तनहुँ । तनहुँको व्यास-४ दमौली स्थित एक हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।
दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
करिब ४ घण्टाको प्रयास पछि अहिले आगलागी नियन्त्रमा आएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए । उनले भने ‘आगलागी नियन्त्रणका लागी ४ वटा दमकल, ट्याङ्कर संगै सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको थियो ।’
उक्त आगलागीबाट ५ वटा टहरा, ३ वटा ठुला आरसिसि घरमा क्षति पुगेको र आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएकाले डोजरले दमकल भित्र जान एउटा टहरा भत्काएको प्रजिअ अर्यालले जानकारी दिए । उनले थपे ‘अन्य क्षतिको विवरण आइसकेको छैन, अनुसन्धान भईरहेको छ ।’
गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली आएको थियो । आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको थियो । दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ ।
यो पनि :
दमौलीको आगलागी: मादी नदीबाट पानी ओसारेर हेलिकप्टरले आगो निभाउदै (फोटो/भिडिओ सहित)
तनहुँको दमौलीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारि (फोटो सहित)