काठमाडौं, १० असोज । ए–लेभलका विद्यार्थीहरूले ब्रिटिश काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरूले कोरोनाभाइरसको त्रास र नजिकिँदै गरेको चाडबाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रूपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरूको जिम्मेवारी लिनुपर्ने बताए । उनले भने,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’ कोरोनाभाइरसको डर र नजिकिँदै गरेको चाडबाडको कारण पनि भौतिक रूपमा परीक्षा दिन सहज नहुने उनको भनाई थियो ।