images
images

दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बनाउने भनेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले ८ वर्षसम्म पनि पाएन कार्यकारी निर्देशक

images

बेलचौतारा

श्वासप्रश्वास रोगको विशिष्टीकृत उपचारका लागि स्थापना गरिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विगत आठ वर्षदेखि कार्यकारी निर्देशक विहीन अवस्थामा सञ्चालन भएको छ। अस्पतालमा बषौ देखि निमित्तको भरमा चलिरहँदा अस्पतालको विकास, विस्तार र उद्देश्य अनुसारको गुणस्तरीय सेवा प्रवाह प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त हुने गरेका छन्।

तत्कालीन कार्यकारी निर्देशक डा. मुक्तिनाथ भट्टराईको कार्यकाल २०७५ असारमा सकिएपछि हालसम्म नयाँ कार्यकारी निर्देशक नियुक्त हुन सकेको छैन। त्यसयता अस्पताल डा. रामकुमार श्रेष्ठको निमित्त नेतृत्वमा सञ्चालन हुँदै आएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा आवश्यक चासो नदिँदा नियुक्ति प्रक्रिया नै अघि बढ्न सकेको छैन।

अस्पताल श्वासप्रश्वास रोगको राष्ट्रिय विशिष्टीकृत केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिए पनि हालसम्म स्थानीय आवश्यकता अनुसारको सामान्य अस्पतालकै भूमिकामा सीमित देखिएको छ। विशेषज्ञ सेवा, अनुसन्धान, तालिम तथा अत्याधुनिक श्वासप्रश्वास उपचार प्रणाली विस्तार गर्ने लक्ष्य अझै कागजमै सीमित रहेको स्थानीयको गुनासो छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको यस केन्द्रको उद्देश्य नेपालमै श्वासप्रश्वास रोगको अत्याधुनिक उपचार सेवा उपलब्ध गराउनु थियो। २०६६ चैत ७ गते स्व. कोइरालाको श्वासप्रश्वाससम्बन्धी रोगका कारण निधन भएपछि सरकारले १०० शैय्याको राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। नेपाल सरकारको २०७० सालको गठन आदेश अनुसार सञ्चालित विकास समितिले २०७३ साउन १ गतेदेखि तत्कालीन सेतीगंगा सामुदायिक अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालन सुरु गरेको थियो। हाल केन्द्रको नाममा करिब ७४० रोपनी जग्गा रहेको छ। यति ठूलो भौतिक पूर्वाधार र राष्ट्रिय महत्वको संस्था भए पनि नेतृत्व अभावले यसको दीर्घकालीन विकास अवरुद्ध भएको सरोकारवालाहरूको भनाइ छ।
नेतृत्व अभावले रोकिएको विकास
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार कुनै पनि विशिष्टीकृत अस्पताललाई दीर्घकालीन योजना, बजेट व्यवस्थापन, विशेषज्ञ जनशक्ति भर्ना तथा सेवा विस्तारका लागि स्थायी नेतृत्व आवश्यक हुन्छ। तर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा वर्षौंदेखि निमित्त नेतृत्वमै काम चलाउँदा नीति निर्माणदेखि पूर्वाधार विस्तारसम्मका धेरै काम प्रभावित भएका छन्।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले हालै अस्पतालको अनुगमन गरी तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा अस्पतालको सेवा, व्यवस्थापन र नेतृत्व सम्बन्धी नागरिकका गुनासा एकपछि अर्को गर्दै बाहिरिएका छन्।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास अस्पताल बनाउने उद्देश्यसहित स्थापना गरिएको संस्थाले अझैसम्म राष्ट्रिय स्तरको विशिष्टीकृत सेवा दिन नसकेको भन्दै सरकारसँग तत्काल कार्यकारी निर्देशक नियुक्त गरी अस्पताललाई मूल उद्देश्यअनुसार सञ्चालन गर्न माग गरेका छन्। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले समयमै स्थायी नेतृत्व नियुक्त गर्न नसक्दा पूर्वाधार, सयौं रोपनी जग्गा र राष्ट्रिय महत्वको अस्पताल आफ्नो पहिचान अनुसार विकास हुन नसकेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्। अहिले अस्पतालले सामान्य स्वास्थ्य सेवा त दिइरहे पनि श्वासप्रश्वास उपचारको राष्ट्रिय उत्कृष्ट केन्द्र बनाउने परिकल्पना भने अझै अधुरै रहेको छ ।

सांसदको अनुगमनपछि उठे प्रश्न
सांसद न्यौपानेले अस्पतालको सेवा प्रवाह, पूर्वाधार र व्यवस्थापनको अनुगमन गरेपछि सामाजिक सञ्जालमा नागरिकहरूले आफ्ना भोगाइ सार्वजनिक गरेका छन्। धेरैले अस्पतालको सेवा सुधारभन्दा पनि व्यवस्थापकीय कमजोरीतर्फ ध्यानाकर्षण गराएका छन्।

गंगा थापाले लेखेका छन्, ‘यो अस्पतालमा लाइन नभएको बेला पनि एक्स–रे मेसिन चल्ने गरी जेनेरेटरको व्यवस्था हुनुपर्छ, यो मेरो आफ्नै भोगाइ हो।’

कविता तमुस्योले औषधि अभावप्रति गुनासो गर्दै भनेकी छन्, ‘बिरामीलाई आवश्यक औषधि अस्पतालमै पाइने व्यवस्था गरिदिनुहोस्। कम डोजको औषधिले काम गर्दैन, अन्ततः बाहिरबाट किन्नुपर्ने बाध्यता छ। ’

अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका त्रिलोचन लम्सालले सांसदसँग भेटघाटको समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूले भेटका लागि आग्रह गरे पनि अनुगमनको जानकारी नपाएको र सामाजिक सञ्जालमार्फत मात्रै सांसद अस्पताल पुगेको थाहा पाएको उल्लेख गरेका छन्। यस्तै सुमन भण्डारीले ‘अवलोकन मात्रै हो कि सुधार पनि हुन्छ’ भन्दै अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS