व्यास
व्यास नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब ५५ करोड ३ लाख १ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाको ५८औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट शनिबार सम्पन्न नगरसभाको बैठकले अनुमोदन गरेको हो।
नगर उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गरेको संशोधित आय–व्यय अनुमान अनुसार कुल बजेटमध्ये चालुतर्फ १ अर्ब २ करोड ७६ लाख २ हजार रुपैयाँ र पुँजीगततर्फ ५२ करोड ९२ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरसभाले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा ऊर्जा विकास विधेयक २०८३ समेत पारित गरेको छ।
त्यसैगरी न्यायिक समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, सार्वजनिक सेवा तथा सुशासन समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, युवा तथा खेलकुद विकास समिति, विधायन समिति र लेखा समितिका वार्षिक प्रतिवेदन छलफलसहित संशोधन गरी पारित गरिएको छ। ती प्रतिवेदन रातो किताबमा प्रकाशन गर्ने निर्णय पनि नगरसभाले गरेको छ। नगरसभामा बजेट तथा विभिन्न विधेयकमाथि नगरसभा सदस्यहरूले छलफल गर्दै सुझाव दिएका थिए। छलफलमा उठेका सुझावलाई आवश्यकतानुसार समेटिएको नगरपालिकाले जनाएको छ।
नगरसभाले व्यास नगरपालिकालाई ‘छुवाछुतमुक्त नगरपालिका’ घोषणा गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सबै नगरवासीलाई आग्रह गरेको छ। साथै, छुवाछुतका घटनाका पीडितलाई कानुनी उपचारको दायित्व नगरपालिकाले लिने निर्णय गरेको छ। यस्तै, एकल महिला तथा अपाङ्गता क्षेत्रका क, ख र ग वर्ग व्यक्तिहरूको नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णयसमेत नगरसभाले गरेको छ।















