भानु ,२८ असोज ।
भानु नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणका काम, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न शाखाबाट सम्पादन गरिएका कार्यको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरपालिकाका तर्फबाट आर्थिक वर्षभरि सम्पादन गरिएका काम तथा सेवाको अवस्थाबारे जानकारी गराइएको थियो। प्रस्तुत विवरणमाथि सहभागी नागरिकहरूले जिज्ञासा, सुझाव तथा गुनासा राख्दै विकास निर्माण, सेवा प्रवाह, सुशासन, पारदर्शिता र स्थानीय विकासका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले स्थानीय सरकारले प्रदान गर्ने सेवा सहज, सरल र प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। विकास निर्माणका कामलाई नागरिकको आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउनुपर्ने तथा सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने विषय पनि उठाइएको थियो ।
कार्यक्रममा नागरिकबाट प्राप्त सुझाव तथा गुनासालाई सम्बोधन गर्दै नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो। नागरिकका समस्या, अपेक्षा र सुझावलाई स्थानीय सरकारका आगामी योजना तथा कार्यक्रमसँग जोडेर लैजानुपर्नेमा समेत जोड दिइएको थियो ।सार्वजनिक सुनुवाइ स्थानीय सरकारको कामकारबाहीबारे नागरिकलाई जानकारी गराउने, सेवाग्राहीका समस्या सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई नागरिकप्रति जवाफदेही बनाउने महत्त्वपूर्ण माध्यम हो। यसले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्न र सुधारका उपाय खोज्न सहयोग पु¥याउँछ।
स्थानीय तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रम नागरिकको आवश्यकता र अपेक्षाअनुसार भए–नभएको जानकारी लिनुका साथै सार्वजनिक स्रोतको उपयोग र सेवा प्रवाहबारे प्रश्न उठाउने अवसरका रूपमा पनि सार्वजनिक सुनुवाइलाई लिइन्छ।
भानु नगरपालिकाले आयोजना गरेको सुनुवाइले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्नुका साथै सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नागरिकबाट प्राप्त सुझाव र गुनासालाई व्यवहारमा सम्बोधन गर्दै आगामी दिनमा सेवा प्रवाह र विकास निर्माणका कामलाई थप व्यवस्थित बनाउन सके सार्वजनिक सुनुवाइको प्रभावकारी हुने बताइएको छ ।















