तनहुँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रियसभा सदस्य प्रकाश पन्थले पार्टीको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट अपाङ्गता क्लस्टरमा केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिएका छन्। पन्थले आफ्नो उम्मेदवारी पार्टीको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र मानव अधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्ने उद्देश्यसहित अघि बढाएको बताएका छन्। पार्टी संगठनदेखि संघीय संसद्सम्मको आफ्नो अनुभवलाई आगामी दिनमा पार्टीको नीति, संगठन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन उपयोग गर्ने उनको भनाइ छ।
राष्ट्रियसभाका पूर्वसदस्य तथा दिगो विकास तथा सुशासन समितिका पूर्वसभापतिका रूपमा काम गर्दा विधायन, संसदीय अनुगमन, संविधान कार्यान्वयन, सामाजिक न्याय, नागरिक अधिकार, संघीयता, दिगो विकास र सुशासनका क्षेत्रमा काम गरेको पन्थले उल्लेख गरेका छन्। अपाङ्गता अधिकार, समान अवसर र अर्थपूर्ण प्रतिनिधित्वलाई आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्राको निरन्तर सरोकारका रूपमा अघि बढाउँदै आएको उनले बताएका छन्। पार्टीका सबै तहका संरचनालाई थप समावेशी तथा अपाङ्गतामैत्री बनाउने विषयलाई पनि प्राथमिकतामा राख्ने उनको भनाइ छ।

पन्थले १५औँ महाधिवेशनलाई नेपाली कांग्रेसको आगामी नीति, संगठनात्मक दिशा र राजनीतिक प्राथमिकताबारे छलफल तथा निर्णय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। महाधिवेशनमार्फत लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टी संगठनलाई समावेशी र जवाफदेही बनाउने तथा नीति र कार्यक्रमलाई जनमुखी बनाउने विषयमा आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताएका छन्। पन्थले तनहुँ क्षेत्र नं. १ का कांग्रेसका नेता तथा कार्यकर्तासँग साथ, सहयोग, समर्थन, मत र विश्वासको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गरी अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।














