तनहुँ । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ८ जना पक्राउ परेका छन् ।
बुधबार आव्हान गरेको नेपाल बन्दको समयमा बन्द गराउँदै हिडेका आठ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका
दुई केन्द्रिय सदस्यसहित आठ जनालाई बन्दकर्तालाई दमौलीको भोर्लेटार र ट्राफिक चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका केन्द्रिय सदस्यद्धय पुर्णजित पुन र रुपेश वाग्ले रहेका छन् । यस्तै जिल्ला सचिव एटम, पार्टीका जिल्ला सदस्य एवं व्यास नगरपालिका इन्चार्ज ओमबिक्रम पन्त, मगर मुक्ति मोर्चाको जिल्ला अध्यक्ष धनबहादुर राना, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डकीका अध्यक्ष नेत्र रानाभाट, नेकपा माओवादी क्रान्तिकारी जिल्ला सचिव नारायण लम्साल, विप्लव नेतृत्वका मजदुर सदस्य चिजबहादुर भण्डारी रहेका छन् ।
शान्तिपूर्ण रुपमा बन्द गराउँदै हिडेको अवस्थामा प्रहरीले एक्कासी पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका जिल्ला सदस्य एवं व्यासनगरपालिका इन्चार्ज ओमबिक्रम पन्तले बताए ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् । बन्दको प्रभाव तनहुँमा पनि परेको छ । बन्दका कारण तनहुँका मुख्य व्यापारिक केन्द्रहरु ठप्प भएका छन् ।
पृथ्वीराजमार्गमा छिटफुट बाहेक अन्य सवारी चल्न सकेका छैनन् । केही सवारी साधानलाई प्रहरीले स्कर्टिड गरेर चलाउन लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।