images
images

जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको कार्यकारी निर्देशकमा डा. रायमाझी

images

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको कार्यकारी निर्देशकमा डा. पवनजंग रायमाझी नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार डा. रायमाझीलाई केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि मन्त्रालयको उपचारात्मक सेवा महाशाखा प्रमुखका रूपमा कार्यरत रायमाझीले अब केन्द्रको नेतृत्व सम्हाल्नेछन्।

केन्द्रमा विगत आठ वर्षदेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका डा. रामकुमार श्रेष्ठको जिम्मेवारी खोसेर यमाझीलाई जिम्मेवारी दिइएको हो। रायमाझी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक थिए। मन्त्रालयले महाशाखाको जिम्मेवारीमा समेत हेरफेर गर्दै उनको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिएको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी रोगको विशिष्ट उपचार गर्ने राष्ट्रियस्तरको अस्पतालका रूपमा विकास गर्ने उद्देश्य राखिएको हो। सरकारले २०६७ वैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकबाट १०० शय्याको उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।
स्थानीय सेतीगङ्गा सामुदायिक अस्पताललाई सरकारले २०७३ सालमा केन्द्रलाई हस्तान्तरण गरेपछि यहाँबाट नियमित स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको हो। पृथ्वी राजमार्गसँगै रहेको केन्द्रले तनहुँसहित कास्की, स्याङ्जा र आसपासका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
हाल ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन भइरहेको केन्द्रमा बहिरङ्ग सेवा, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, डायलाइसिस, आईसीयू, दन्त उपचारलगायतका सेवा उपलब्ध छन्।

केन्द्रसँग शुक्लागण्डकीको दुलेगौडामा करिब ७४० रोपनी जग्गा रहेको छ। यसलाई तीन सय शय्याको विशिष्टीकृत अस्पताल हुँदै भविष्यमा एक हजार शय्याको अस्पताल र शिक्षण संस्थाका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

लामो समयदेखि निमित्त नेतृत्वका भरमा सञ्चालन हुँदै आएको केन्द्रले नयाँ कार्यकारी निर्देशक पाएसँगै यसको संस्थागत विकास, पूर्वाधार विस्तार र विशेषज्ञ स्वास्थ्य सेवाको प्रभावकारितामा सुधार आउने अपेक्षा गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS