images
images

नेपाली कांग्रेस व्यास नगरको नेतृत्व सापकोटाले सम्हाले

images

दमौली
नेपाली कांग्रेस व्यास नगर समितिको नेतृत्व तुलसीराम सापकोटाले सम्हालेका छन् ।
नवनिर्वाचित सभापति सापकोटाले नगरका १४ वटै वडाका नागरिकसँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिने बताएका छन् ।
सोमबार दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा निवर्तमान सभापति सूर्यचन्द्र हड्खलेले सापकोटालाई पदभार हस्तान्तरण गरे। जिम्मेवारी सम्हाल्दै सापकोटाले विगतका अनुभव र सिकाइलाई आत्मसात् गर्दै संगठनभित्रका कमजोरी सुधार्ने, सबैलाई समेट्ने र जनताका समस्यामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ नेतृत्वले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार, संगठन सुदृढीकरण र युवा परिचालनलाई प्राथमिकतामा राखेको छ । नगर सचिव गौरव पन्थले ‘जनताको घरदैलोमा कांग्रेस, कार्यकर्ताको मनमनमा कांग्रेस’ अभियान सञ्चालन गरिने जानकारी दिए । अभियान मार्फत गाउँ तथा टोलमा पुगेर नागरिकका कुरा सुन्ने, पार्टीका गतिविधिबारे जानकारी गराउने र १४ वटै वडाका युवालाई संगठनमा जोड्ने योजना रहेको उनले बताए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले राजनीति नेताको चाकरीमा नभई जनताको सेवामा केन्द्रित हुनुपर्ने बताए । जनताको सुखदुःखमा साथ दिने गतिविधिमा कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो । कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले संगठनलाई परिणाममुखी बनाउन स्पष्ट नीति, योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, महाधिवेशन प्रतिनिधि वसन्तबहादुर आले, क्षेत्र नम्बर २ का सभापति आनन्दराज त्रिपाठी, व्यास नगरका पूर्वसभापति शान्तिरमण वाग्ले र नेपाल महिला संघकी केन्द्रीय सदस्य पवित्रा पौडेललगायतले धारणा राखेका थिए । सो अवसरमा निवर्तमान सचिवद्वय सुरेश पुरी र खेमराज पोखरेलले वर्तमान सचिव गौरव पन्थलाई बैठकको माइन्युट हस्तान्तरण गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS