images
images

स्वर्णिमको अभिव्यक्तिमा श्रीरामको व्यङ्ग्य ‘कूटनीति चाप्लुसी होइन, राष्ट्रिय स्वाभिमान जोगाउनु हो’

images

कात्तिक १०, तनहुँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा आयोजित एक कार्यक्रममा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्ने अभिव्यक्तिले नेपाली राजनीतिमा बहस चर्काएको छ। आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट तनहुँ क्षेत्र नं. २ मा निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत कूटनीति, राष्ट्रिय स्वाभिमान र राजनीतिक लोकप्रियतामाथि व्यङ्ग्य गर्दै वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने समय समाप्त भएको बताएका थिए। नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै उनले नयाँ सरकारले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको धारणा राखेका थिए। उनको उक्त अभिव्यक्तिपछि नेपालको राष्ट्रियता, परराष्ट्र नीति र राष्ट्रिय हितको संरक्षणबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ।
सासंद न्यौपानेले फेसबुकमा लेखेका छन्, “कूटनीति भनेको कसैलाई होच्याएर वा कसैको चाप्लुसी गरेर आफू अग्लो देखिनु होइन, आफ्नो राष्ट्रको स्वाभिमान जोगाउँदै राष्ट्रिय हित सुरक्षित गर्नु हो। लोकप्रियता व्यङ्ग्य, कटाक्ष र परनिर्भरताको प्रदर्शनबाट होइन, नतिजामुखी काम, सन्तुलित अभिव्यक्ति र स्वाभिमानी व्यवहारबाट हासिल हुन्छ। इतिहासले कसले कसलाई के भन्यो भन्नेभन्दा पनि कसले देश र जनताका लागि के गर्‍यो भन्ने कुरा सम्झन्छ।”

न्यौपानेको यो टिप्पणीलाई अर्थमन्त्रीको अभिव्यक्तिप्रति लक्षित व्यङ्ग्यका रूपमा हेरिएको छ। एउटै दलबाट निर्वाचित दुई सांसदबीच राष्ट्रिय स्वाभिमान र कूटनीतिक अभिव्यक्तिको विषयमा सार्वजनिक रूपमा मतान्तर देखिनुले रास्वपाभित्रको राजनीतिक बहसलाई समेत चासोको विषय बनाएको छ।

वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउने न्यौपाने एक्ला होइनन्। विभिन्न राजनीतिक दलहरु तथा विभिन्न ब्यक्तिहरुले समेत उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेपालको राष्ट्रियता कुनै एउटा देशको विरोधमा आधारित नभएको बताएका छन्। नेकपा एमालेले पनि वाग्लेको अभिव्यक्तिको कूटनीतिक औचित्यमाथि प्रश्न उठाएको छ। नेकपा एमालेले सीमा विवाद, व्यापार घाटा, पारवहन तथा सीमावर्ती क्षेत्रमा डुबानजस्ता समस्या उठाउनु भारतविरोधी हुनु होइन, राष्ट्रिय हितको संरक्षण गर्नु भएको बताएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, भौगोलिक तथा आर्थिक सम्बन्ध गहिरो छ। भारतसँगको सम्बन्ध सुदृढ बनाउनु नेपालको आवश्यकता भए पनि सीमा विवाद, व्यापार असन्तुलन र अन्य राष्ट्रिय सरोकारका विषयमा आफ्नो अडान राख्नु पनि उत्तिकै आवश्यक छ। यही सन्तुलनलाई कसरी कायम गर्ने भन्ने प्रश्न अहिलेको बहसको केन्द्रमा देखिएको छ।
रास्वपाबाटै निर्वाचित सांसद न्यौपानेको टिप्पणीले यस बहसलाई थप अर्थपूर्ण बनाएको छ। एउटै राजनीतिक दलका नेताहरूबीच पनि कूटनीतिक अभिव्यक्ति र राष्ट्रिय हितका विषयमा फरक दृष्टिकोण हुन सक्ने सन्देश उनको टिप्पणीले दिएको छ। अन्ततः कूटनीतिक सफलताको मापन विदेशी मञ्चमा व्यक्त गरिएका प्रशंसात्मक शब्दले मात्र होइन, देशको सार्वभौमिकता, स्वाभिमान र जनताको हितलाई व्यवहारमा कति सुरक्षित गर्न सकियो भन्ने आधारमा हुनुपर्छ भन्ने प्रश्न अहिले उठेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS