तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दिपुर जाँदै गरेको जीप वडा नम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो ।
सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुरमा-६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापा, सोही ठाउँका २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्यौपाने, ४८ वर्षिया शुसिलादेवी न्यौपाने, ५० वर्षिया बीमायाँ गुरुङ, ४८ वर्षिया सुकबहादुर गुरुङ रहेका छन् ।
यस्तै दुर्घटनामा घाइते भएका ८ जनालाई बन्दिपुर अस्पतालबाट रिफर गरि भरतपुर शिक्षण अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते हुनेमा बन्दिपुर-६ की २१ वर्षीया जमुना थापा, बन्दिपुर-६ हुस्लाङकोट बस्ने ४८ वर्षीया ममकुली गुरुङ, सोही स्थानकी २२ वर्षीया कुमारी गुरुङ, बन्दिपुर-६ भाक्से बस्ने १६ वर्षीया सनिसा थापा, सोही स्थान बस्ने ७ महिनाकी बिबिसा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दान बहादुर थापा र २१ वर्षीय बिपिन थापा रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाले हटिया गाउँ शोकमा डुबेको छ । ‘घटनाले हटियालाई मात्र होइन, सिंगो बन्दीपुर गाउँपालिकालाई नै विक्षिप्त बनाएको छ’ पालिका अध्यक्षले भने, ‘कच्ची बाटो पार गर्दै आएको जिप पिच बाटोमा दुर्घटनामा पर्यो ।’
जिप आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतिर गुडिरहेको थियो । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो ।
‘गाडीको एक्कासी स्टार्ट बन्द भएछ । फेरि स्टार्ट गर्न खोज्दा गाडी ब्याक भएपछि चालकले जिप नै छोडेर भागेछन् र भीरबाट खस्यो भन्ने छ’ पालिका अध्यक्ष थापाले भने, ‘चालक अहिले फरार छन् । उनी सिकारु थिए भन्ने सूचना प्राप्त भएको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’
स्रोतका अनुसार जीप धरमपानी सम्म चालकले नै चलाएका थिए । तर त्यहींबाट माथि भने जीप धनीले नै सो जीप चलाएका थिए । उनि सिकारु रहेको बुझिन आएको छ ।
बन्दिपुरको धरमपानीमा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थल मै मृत्यु