दमौली , ०९ वैशाख ।
तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता निर्धारण गर्ने उद्देश्यले सञ्चालन गरेको ‘सांसद–जनसंवाद कार्यक्रम’ व्यास नगरपालिका वडा नं. ५ र ६ तथा म्याग्दे गाउँपालिकामा सम्पन्न भएको छ ।
व्यास नगरपालिका–५ को भूपु टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद न्यौपानेले जनतासँग नजिक भएर उनीहरूको समस्या समाधानमा सक्रिय रूपमा लागिरहेको बताए । जनताका गुनासा सुन्ने मात्र नभई सम्बन्धित निकायलाई समेत सँगै राखेर समाधान खोज्ने प्रयास भइरहेको उनको भनाइ थियो।
न्यौपानेले जनताको चाहना र अभिलाषा पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै पछिल्लो समय परिवर्तनका संकेत देखिन थालेको दाबी गरे । “सरकार गठन भएको छोटो समयमै जनतामा आशा जागेको छ, हाम्रो कार्यकालभित्र देशमा ठोस परिवर्तन देखिनेछ,” उनले भने ।
बुधबार म्याग्दे गाउँपालिकामा आयोजित जनसंवाद कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरूले सांसद न्यौपानेलाई विभिन्न मागपत्र बुझाएका थिए। पछिल्लो समय उहाँले तनहुँ क्षेत्र नं. २ का विभिन्न स्थानमा पुगेर स्थानीयसँग भलाकुसारी गर्दै विकाससम्बन्धी आवश्यकताहरू संकलन गर्ने कार्यलाई तीव्रता दिएका छन् । कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी व्यवस्था, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। साथै विकास योजना कागजमै सीमित नभई कार्यान्वयनमुखी हुनुपर्ने धारणा राखिएको थियो।
संवादका क्रममा सांसद न्यौपानेले जनताको सुझाव नै विकास योजनाको आधार बन्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि जनताबाट टाढा नभई उनीहरूमाझ पुग्नुपर्नेमा जोड दिए । न्यौपानले उठेका माग तथा सुझावलाई प्राथमिकताका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । स्थानीय जनप्रतिनिधिहरूले यस्ता प्रत्यक्ष संवाद कार्यक्रमले जनभावना समेट्ने संस्कार विकास गरिरहेको उल्लेख गर्दै यसले स्थानीय विकासलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् ।
सांसद र नागरिकबीचको निरन्तर संवादले विकासप्रति साझा जिम्मेवारी र विश्वासको वातावरण निर्माण हुने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन् ।















