दमौली, नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकार विनोद ढुंगानामाथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गरेको अभद्र तथा अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार, जेठ ३१ गते शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारमा समाचार सङ्कलनका क्रममा उक्त घटना भएको हो। विज्ञप्तिमा सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलसँगै उपस्थित नगर प्रमुख पण्डितले “पत्रकार त पार्टीका हुन्छन्” भन्ने अभिव्यक्ति दिएको र त्यसबारे पत्रकार विनोद ढुंगानाले “को भयो पार्टीका पत्रकार ? कसरी भयो ?” भनी जिज्ञासा राख्दा नगर प्रमुखले “तैले मलाई सिकाउन पर्दैन” भन्दै असभ्य र अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ।
महासंघले जनप्रतिनिधिबाट सञ्चारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने जनाएको छ। विज्ञप्तिमार्फत महासंघले पत्रकार ढुंगानामाथि भएको भनिएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ।

साथै, स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की, दुर्व्यवहार वा हस्तक्षेपप्रति सञ्चार क्षेत्र सदैव एकजुट रहने प्रतिबद्धता पनि महासंघले व्यक्त गरेको छ।
महासंघका सचिव न्यौपानेद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीको सम्मान र प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक समाजको आधारभूत आवश्यकता भएको उल्लेख गरिएको छ।















