images
images

उत्पादनसँगै बढ्दै किसानको उत्साह: आँबुखैरेनीमा दुग्ध उत्पादकलाई २१ लाखभन्दा बढी अनुदान

images

कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ। गाउँपालिकाले “दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता” भन्ने नारालाई व्यवहारमा उतार्दै चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक अवधिमा उत्पादन भएको दूधको आधारमा किसानलाई प्रतिलिटर ६ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो।
गाउँपालिकाका अनुसार उक्त अवधिमा गाउँपालिकाभित्रका किसानले तीन लाख ५९ हजार एक सय ९० लिटर दूध उत्पादन गरी सहकारीमार्फत बजारमा बिक्री गरेका थिए। सोही परिमाणका आधारमा किसानलाई कुल २१ लाख ५५ हजार एक सय ४२ रुपैयाँ अनुदान रकम भुक्तानी गरिएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले कृषि र पशुपालनलाई गाउँपालिकाको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रूपमा अगाडि बढाइएको बताउँदै दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “स्थानीय स्तरमा उत्पादन बढाउने, किसानको आम्दानी वृद्धि गर्ने र गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। अनुदानले किसानलाई प्रत्यक्ष राहत र हौसला प्रदान गरेको छ।”
अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले केही वर्षयता उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यस कार्यक्रममार्फत किसानले उत्पादन गरेको दूधको परिमाणका आधारमा अनुदान प्राप्त गर्ने भएकाले उत्पादन बढाउन थप प्रेरणा मिलेको छ। यसले परम्परागत पशुपालनलाई व्यवसायिक र व्यावसायिक पशुपालनलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुगेको उनको भनाइ छ।
गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने किसानलाई मात्र अनुदान उपलब्ध गराउँदै आएको छ। यस व्यवस्थाले दूध संकलन, बजारीकरण र भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाएको छ भने सहकारी संस्थाको भूमिकालाई पनि सुदृढ बनाएको छ।
स्थानीय किसानहरूका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रम सुरु भएपछि पशुपालन व्यवसायप्रति आकर्षण बढेको छ। पशु आहार, औषधोपचार तथा अन्य व्यवस्थापन खर्च बढिरहेका बेला प्राप्त हुने अनुदानले केही हदसम्म आर्थिक भार कम गर्न सहयोग पुगेको उनीहरूको अनुभव छ। यसले व्यवसाय विस्तार गर्न तथा पशु संख्या बढाउन समेत प्रेरित गरेको किसानहरूको भनाइ छ।
गाउँपालिकाले दुग्ध उत्पादनसँगै पशुको स्वास्थ्य, गुणस्तरीय आहार व्यवस्थापन, कृत्रिम गर्भाधान सेवा तथा प्राविधिक परामर्शलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। यसबाट दूध उत्पादनको मात्रा मात्र नभई गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ । स्थानीय तहहरूले कृषि तथा पशुपालन क्षेत्रमा यस्ता उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दा ग्रामीण अर्थतन्त्र चलायमान बन्ने, रोजगारी सिर्जना हुने तथा गाउँमै आयआर्जनका अवसर विस्तार हुने विश्वास गरिएको छ। आँबुखैरेनी गाउँपालिकाको यो पहलले पशुपालन व्यवसायलाई थप व्यावसायिक, व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS