अधिकारी रास्वपाको संघीय नेतृत्व मंचको केन्द्रीय सदस्यमा नियुक्त
तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले व्यास–११ का राजेन्द्रबहादुर अधिकारीलाई पार्टीको संघीय नेतृत्व मंचको केन्द्रीय सदस्यमा नियुक्त गरेको छ। केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो।
लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय राजनीतिमा सक्रिय अधिकारीले राप्रपामा केन्द्रीय सदस्य, केन्द्रीय उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन्।
उनी अर्थमन्त्री तथा रास्वपाका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेसँग निकट मानिन्छन्। वाग्लेको २०८० सालको पहिलो निर्वाचनदेखि नै अधिकारी राप्रपाको पदीय जिम्मेवारीबाट अलग भई सक्रिय रूपमा उनलाई सहयोग गर्दै आएका थिए। सो निर्वाचनपछि उनले रास्वपाको सदस्यता लिएका भए पनि हालसम्म औपचारिक भूमिकामा देखिएका थिएनन्।
रास्वपा सचिवालयका अनुसार संघीय नेतृत्व मंचमा सामाजिक अभियन्ता, विभिन्न क्षेत्रका विज्ञ, अन्य दलमा केन्द्रीय तहमा काम गरिसकेका व्यक्तित्व तथा अन्य दलबाट समायोजन भई आएका तर विधानतः केन्द्रीय सदस्यमा मनोनयन हुन नसकेकालाई केन्द्रीय सदस्यसरहको जिम्मेवारी प्रदान गरिन्छ।
उपाध्यक्ष तथा अर्थमन्त्री डा. वाग्लेको अवधारणाअनुसार गठन गरिएको उक्त मंचलाई पार्टीको महत्वपूर्ण अंगका रूपमा लिइएको छ।















