तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरुको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिरहेको समेत बताए । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञहरूबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने सरकारको नीति रहेको बताउँदै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको उनले बताए ।
कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनले बताए । साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रवासीहरुको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
आ.ब. २०५०–०५१ देखि २०७७–०७८ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका ५६ लाख ६४ हजार श्रमिकले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत छ । व्यवस्थितआप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्बृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताए ।