images
images

वीरगञ्जमा हैजा विरुद्धको १० लाख डोज खोप अभियान दसैँलगत्तै सञ्चालन गरिने

images

काठमाडौँ । सरकारले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि दसैँलगत्तै दश लाख डोज हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

हैजाविरुद्धको खोप अभियान पर्सा र बाराका केही प्रभावित स्थानीय तहमा केन्द्रित हुने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बताए ।

‘हैजा विरुद्धको खोप दसैँअघि नै नेपाल आइपुग्नेछ भने दसैँ बिदा सकिनासाथ अभियान सुरु गरिनेछ,’ उनले भने ।मुखबाट सेवन गरिने (ओरल) यो खोपको एकै डोजले महामारी नियन्त्रणमा सहयोग पुग्ने डा।गौतमले बताए ।

यस्तै हैजा विरुद्धको खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइनेछ । उच्च सङ्क्रमण भई अस्पतालमा उपचाररत, ज्वरो आएका वा झाडापखाला भइरहेका बिरामीहरूले भने यो खोप लिन नमिल्ने उनले बताए ।

खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरूमार्फत उपलब्ध गराइनेछ । यो खोप सरकारले खरिद नगरी इन्टरनेस्नल कोडिनेसन ग्रुप ­­ ­­(आइसीजी) मार्फत अनुदानमा प्राप्त भएको हो ।

जसमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजको महासङ्घ जस्ता संस्थाहरू संलग्न छन् ।

पर्सामा एक महिनाभन्दा बढी समयदेखि हैजाको प्रकोप जारी रहे पनि यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन । दूषित पानी तथा खानाबाट यो रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन गाह्रो भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँदै आएको छ ।

यसअघि नेपालमा कपिलवस्तुमा हैजाको महामारी फैलिँदा पनि खोप अभियान चलाइएको थियो । त्यस समयमा सात जनाको ज्यान गएको थियो । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS