तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौंडास्थित जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा करिब ७० लाख रुपैयाँ खर्चेर जडान गरिएको लिफ्टको औचित्यमाथि प्रश्न उठेको छ। अस्पतालको मुख्य भवन तीनतले मात्र रहे पनि लिफ्ट भने चौथो तलासम्म पुग्ने गरी निर्माण गरिएको छ, जबकि चौथो तलामा नियमित स्वास्थ्य सेवा सञ्चालन हुने कुनै संरचना छैन।
अस्पतालले एकैपटक १६ जना यात्रु बोक्न सक्ने क्षमताको लिफ्ट जडान गरेको हो। तर लिफ्टको अन्तिम बिन्दु रहेको चौथो तलामा बिरामीका लागि वार्ड, उपचार कक्ष वा अन्य सेवा सञ्चालनमा ही छाना सम्म पुग्ने संरचना मात्र रहेको पाइएको छ। यसले सार्वजनिक रकमको उपयोगिता र खर्चको औचित्यमाथि प्रश्न उठाएको हो।संघीय सरकारले सार्वजनिक निकायलाई मितव्ययी हुन निर्देशन दिँदै आएको अवस्थामा सरकारी अस्पतालले तत्काल आवश्यक नभएको संरचनामा ठूलो रकम खर्च गरेको भन्दै स्थानीय सरोकारवालाले आलोचना गरेका छन्।
नेपालको राष्ट्रिय भवन संहिताले पाँच तलाभन्दा माथिका सार्वजनिक भवनमा लिफ्ट अनिवार्य गरेको छ। पाँच तलाभन्दा कम उचाइका भवनमा लिफ्ट राख्न कानुनी रोक नभए पनि त्यसको आवश्यकता, उपयोगिता र लागत–प्रभावकारिताका आधारमा निर्णय हुनुपर्ने पूर्वाधार विज्ञहरूको धारणा छ। यसै सन्दर्भमा अस्पतालमा जडान गरिएको लिफ्टको डिजाइन र क्षमतामाथि प्रश्न उठेको हो।
तला थप्ने योजना रद्द, लिफ्ट भने उही डिजाइनमा
अस्पताल स्रोतका अनुसार सुरुमा मुख्य भवनमा थप एक तला निर्माण गर्ने योजना बनाइएको थियो। सोही आधारमा चौथो तलासम्म पुग्ने लिफ्टको अवधारणा अघि बढाइएको थियो। थप तला निर्माणका लागि ठेक्का प्रक्रिया समेत सुरु गरिएको थियो।तर प्राविधिक अध्ययनपछि पुरानो भवनले थप भार धान्न नसक्ने निष्कर्ष आएपछि चौथो तला निर्माणको योजना रद्द गरिएको स्रोतले जनाएको छ। यद्यपि भवन विस्तारको योजना रोकिए पनि लिफ्टको डिजाइन परिवर्तन नगरी चौथो तलासम्म पुग्ने गरी निर्माण कार्यलाई निरन्तरता दिइएको बताइएको छ।निर्माण सम्पन्न भइसकेपछि पनि चौथो तलामा कुनै उपचार सेवा सञ्चालनमा छैन, र तत्काल त्यहाँ स्वास्थ्य सेवा सञ्चालन हुने सम्भावना पनि देखिँदैन। यसबाट नै अस्पतालको आवश्यकता भन्दापनि कमिशनको चक्करमा अनावश्यक खचै गरिएको जानकारहरु बताउँछन् ।
अस्पतालको दाबी ः भविष्यको सेवा विस्तारलाई ध्यान
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले अस्पतालमा आईसीयू, शल्यक्रिया कक्ष तथा गम्भीर बिरामीको ओसारपसारलाई सहज बनाउन लिफ्ट आवश्यक रहेको बताए। उनका अनुसार दोस्रो तलामा सञ्चालित आईसीयू र अपरेशन थिएटरमा बिरामी तथा उपकरण लैजान लिफ्ट अपरिहार्य भएकाले जडान गरिएको हो। उनले भविष्यमा सेवा विस्तारलाई समेत ध्यानमा राखेर १६ जना अट्ने क्षमताको लिफ्ट निर्माण गरिएको बताए।
स्थानीय सरोकारवाला र केही प्राविधिकहरू भने भवनमा थप तला बनाउनै नसकिने निष्कर्ष आइसकेपछि पनि चौथो तलासम्म पुग्ने लिफ्ट निर्माण गर्नु योजनागत कमजोरी भएको बताउँछन्। उनीहरूको तर्क छ, अस्पतालको तत्काल आवश्यकता तेस्रो तलासम्म सेवा प्रवाह सहज बनाउनु थियो। भवन विस्तारको योजना रद्द भइसकेपछि लिफ्टको डिजाइन पुनरावलोकन गरी आवश्यकता अनुसार निर्माण गर्न सकिन्थ्यो। त्यसो नगर्दा अतिरिक्त सार्वजनिक खर्च भएको उनीहरूको भनाइ छ।















