तनहुँ
तनहुँ जिल्ला आर्थिक वर्ष २०८२–८३ का लागि निर्धारित सबै मापदण्ड पूरा गर्दै पुनः ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’घोषणा गरिएको छ। प्रदेश खोप समन्वय समितिबाट आवश्यक भेरिफिकेसन तथा प्रमाणीकरण सम्पन्न भएपछि सोमबार आयोजित कार्यक्रममा जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो।
यसअघि तनहुँ जिल्ला वि।सं। २०७२ साल कार्तिक २० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा भएको थियो। नेपालको संविधान–२०७२, खोप ऐन–२०७२, खोप नियमावली–२०७४, जनस्वास्थ्य सेवा ऐन–२०७५ तथा राष्ट्रिय स्वास्थ्य नीति–२०७६ ले प्रत्येक बालबालिकालाई निःशुल्क तथा गुणस्तरीय खोप सेवामा पहुँच सुनिश्चित गर्ने व्यवस्था गरेअनुसार जिल्लामा नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ।
हाल तनहुँका २३८ वटा नियमित खोप केन्द्रमार्फत बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप सेवा उपलब्ध गराइँदै आएको छ। आर्थिक वर्ष २०८२–८३ देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९खोप पनि नियमित खोप कार्यक्रममा समावेश गरी सफलतापूर्वक सञ्चालन गरिएको छ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम अन्तर्गत जिल्लाका १० वटै स्थानीय तह र ८५ वटै वडामा घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोज तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख जनस्वास्थ्य प्रशासक अमर दवाडीले बताए ।
सर्वेक्षणअनुसार जिल्लामा ० देखि १५ महिनासम्मका तीन हजार ४२१ तथा १६ देखि ५९ महिनासम्मका १० हजार ९८१ बालबालिका रहेका छन्। सर्वेक्षणका क्रममा शून्य डोज खोप पाएका बालबालिकाको संख्या शून्य रहेको तथा पूर्ण खोप नपाएका १७ जना बालबालिकालाई छुट खोप प्रदान गरी राष्ट्रिय खोप तालिकाअनुसार सबै बालबालिकामा पूर्ण खोप सुनिश्चित गरिएको सचिवालयले जनाएको छ।
जिल्लामा अस्थायी रूपमा बसोबास गर्ने श्रमिक परिवार, विशेषगरी इट्टाभट्टा, नदीजन्य पदार्थ उत्खनन तथा निर्माण क्षेत्रमा कार्यरत परिवारका बालबालिका नियमित खोप सेवाबाट छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनमा स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्रको पहिचान गरी सूक्ष्म योजना तयार गर्ने, नियमित ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने तथा प्रभावकारी अनुगमन र समुदायस्तरीय जनचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस उपलब्धि हासिल गर्न योगदान पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, अभिभावक, जनप्रतिनिधि, वडा तथा पालिका खोप समन्वय समिति, जिल्ला खोप समन्वय समिति, सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति जिल्ला खोप समन्वय समितिले आभार व्यक्त गरेको छ।
समितिले “स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने वातावरण निर्माणका लागि सबै पक्षसँग निरन्तर सहयोग, समन्वय र सहकार्यको आग्रह गरेको छ।
‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’ घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका कार्यवाहक प्रमुख बासुदेब थापाको अध्यक्षता, ब्यास नगरपालिका प्रमुख बैकुन्ठनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापती प्र.डा कृष्ण गौतम लगायत जिल्ला खोप समन्वय समितिका पधाधिकारीहरूको उपस्थितीमा संचालन भएको थियो। कार्यक्रममा प्रदेश खोप समन्य समितिका सदस्य खोप अधिकृत एकनारायण लम्सालले तनहुँ जिल्लालाई पुर्ण खोप सुनिश्चितता दिगोपनाको जिल्ला प्रमाणपत्र हस्तानतरण ग गरेका थिए ।















