images
images

जनविश्वास जित्दै प्रदेश अस्पताल दमौली, वार्षिक सेवाग्राही एक लाख नाघे

images

दमौली,
गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित प्रदेश अस्पताल दमौलीले आर्थिक वर्ष २०८२-८३ मा एक लाखभन्दा बढी सर्वसाधारणलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराएको छ । अस्पतालका अनुसार एक वर्षको अवधिमा कुल १ लाख १ हजार ८२ जना बिरामीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
अस्पतालको तथ्याङ्क अनुसार सेवा लिनेमध्ये ६० वर्ष वा सोभन्दा माथिका २५ हजार ७ सय ८ जना ज्येष्ठ नागरिक रहेका छन्, जुन कुल सेवाग्राहीको करिब २६.७ प्रतिशत८८ हो। यसले अस्पतालमा ज्येष्ठ नागरिकको सेवा पहुँच उल्लेख्य रहेको देखाएको छ ।
आकस्मिक सेवामा १० हजार बढी
अस्पतालले वर्षभरि आकस्मिक तथा अन्तरङ्ग (भर्ना) सेवा निरन्तर सञ्चालन गरेको जनाएको छ । आर्थिक वर्षभरि १० हजार ७ सय ३५ जना बिरामीले आकस्मिक सेवा लिएका छन् । मासिक तथ्याङ्क अनुसार असार २०८३ मा सबैभन्दा बढी १ हजार २ सय ४७ जना बिरामी आकस्मिक कक्षमा पुगेका थिए। उपचारका लागि अस्पतालमा १ हजार ८ सय ९३ जना बिरामी भर्ना भएका थिए।
१४ सय ३ को शल्यक्रिया
अस्पतालले सामान्य देखि जटिल सम्मका विभिन्न प्रकारका शल्यक्रिया सम्पन्न गरेको छ । प्रतिवेदन अनुसार आर्थिक वर्षभरि १२९ वटा जटिल, ८३ वटा मध्यम तथा १ हजार १ सय ९१ वटा साना शल्यक्रिया गरी कुल १ हजार ४ सय ३ वटा शल्यक्रिया गरिएको छ । प्रसूति सेवा अन्तर्गत २ सय ५६ जना आमाले शिशु जन्माएका८८ छन्। तीमध्ये २९ जनाको जटिल अवस्थाका कारण शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ ।
प्रयोगशाला र रेडियोलोजी सेवामा पनि उल्लेख्य चाप
अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार निदानात्मक सेवातर्फ पनि बिरामीको उपस्थिति उल्लेख्य रहेको छ । आर्थिक वर्षभरि ३७ हजार ३ सय ६० जना बिरामीले प्रयोगशाला (ल्याब) सेवा लिएका छन ्।
त्यसैगरी २९ हजार २ सय २० जनाले रेडियोलोजी सेवा लिएका छन् । तीमध्ये १७ हजार २१ जनाले एक्स–रे, ६ हजार ८ सय ५६ जनाले भिडियो एक्स–रे तथा ५ हजार ३ सय ४३ जनाले ईसीजी सेवा प्राप्त गरेका छन् ।
९०५ जनाले लिए डायलाइसिस सेवा
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार अस्पतालले दीर्घरोगी तथा लक्षित वर्गका लागि विशेष सेवा पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । आर्थिक वर्षभरि सय ५ जना बिरामीले मिर्गौला डायलाइसिस सेवा लिएका छन् । मासिक विवरण अनुसार असार महिनामा सबैभन्दा बढी ९० जनाले डायलाइसिस सेवा प्राप्त गरेका थिए।
सामाजिक सेवा एकाइबाट १८७ जनालाई सहयोग
अस्पतालमा सञ्चालित सामाजिक सेवा एकाइ तथा ओसिएमसी मार्फत ज्येष्ठ नागरिक, विपन्न, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिलाई सेवा उपलब्ध गराइएको छ ।
प्रतिवेदन अनुसार वर्षभरिमा १ सय ८७ जनाले उक्त सेवा लिएका छन् । तीमध्ये १ सय १८ जना नयाँ सेवाग्राही रहेका छन् । अस्पताल प्रशासनका अनुसार पछिल्ला वर्षहरूमा जनशक्ति, स्वास्थ्य उपकरण र प्रविधिको विस्तारसँगै प्रादेशिक अस्पताल दमौलीप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको छ। सेवा विस्तार र गुणस्तरमा सुधार हुँदै जाँदा बिरामीको चाप पनि निरन्तर बढिरहेको अस्पतालले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS