images
images

आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै

images

तनहुँ
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८२–८३ मा चिकित्सालयबाट ३७ हजार ७२ जनाले विभिन्न आयुर्वेदिक स्वास्थ्य सेवा लिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा सेवा लिने ३५ हजार ६२१ जना भन्दा १ हजार ४५१ ले बढी हो।
चिकित्सालयले बहिरङ्ग सेवा, प्रयोगशाला, पञ्चकर्म, योग, फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, शिरोधारा, क्षारसूत्र तथा मातृ–शिशु स्वास्थ्यलगायतका सेवालिने सेवाग्राहीको संख्या पनि उल्लेख्य रूपमा बढेको चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए। उनका अनुसार पछिल्ला वर्षहरूमा आयुर्वेदीक उपचारप्रति जनविश्वास बढ्दै गएको छ। आधुनिक उपचारसँगै आयुर्वेदलाई पनि स्वास्थ्य उपचारको प्रभावकारी विकल्पका रूपमा लिन थालिएको र सोहीअनुसार चिकित्सालयले सेवा विस्तार, गुणस्तर सुधार तथा पहुँच अभिवृद्धिमा जोड दिएको उनले बताए।
आर्थिक वर्ष २०८२–८३ मा बहिरङ्ग सेवाबाट सबैभन्दा बढी १२ हजार १५ जनाले सेवा लिएका छन्। त्यसैगरी पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट १० हजार १७५, योग सेवाबाट ५ हजार ९४१, फिजियोथेरापी सेवाबाट २ हजार ४६०, प्रयोगशाला सेवाबाट ५९५, शिरोधारा सेवाबाट ११५, स्तनपान आमा तथा शिशु सेवाबाट १००, क्षारसूत्र सेवाबाट २० तथा ज्येष्ठ नागरिक सेवाबाट २ हजार ८७४ जनाले लाभ लिएका छन्।
चिकित्सालयका कविराज निरीक्षक भोजहरी रानाभाटका अनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन सेवाबाट २ हजार ७७८ बालबालिका लाभान्वित भएका छन्। यो कार्यक्रम पहिलो वर्ष सञ्चालन गरिएकाले अभिभावकको उत्साहजनक सहभागिता देखिएको उनले बताए।
चिकित्सालयका अनुसार आयुर्वेदिक उपचारप्रतिको बढ्दो विश्वास, नियमित स्वास्थ्य सचेतना कार्यक्रम, सेवा विस्तार तथा दक्ष जनशक्तिको व्यवस्थापनका कारण सेवाग्राहीको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको हो।
विशेषगरी दीर्घरोग, जीवनशैलीजन्य समस्या तथा प्राकृतिक उपचार खोज्ने नागरिकको रोजाइ आयुर्वेद बन्दै गएको चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक चापागाईले बताए ।
प्रदेश आयुर्वेद चिकित्सालयले आगामी वर्षहरूमा पञ्चकर्म, योग, फिजियोथेरापी र रोग प्रतिरोधात्मक कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, ग्रामीण क्षेत्रसम्म आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS