काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत असारमा ३० जनाको मृर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा मात्र केन्द्रले १८६ जनाको मृर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ।
उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मृर्गौला प्रत्यारोपण समेत भएको थियो । उक्त आर्थिक वर्षमै एक जना मस्तिष्क मृत व्यक्तिबाट प्राप्त एउटा मृर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।
उमेर समूह अनुसार
केन्द्रमा मृर्गौला प्रत्यारोपण भएका बिरामीहरूको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको थिए जसमा १५५ जना (झन्डै ८० प्रतिशत) ग्रहणकर्ताहरूको उमेर समूह २० देखि ४९ वर्षको थिए।

लैङ्गिक अनुसार
मृर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करिब(७३ प्रतिशत) र ५० जना महिला करिब २७ प्रतिशत महिला छन् भने अङ्गदाताहरूमा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) छन् ।

प्रदेश अनुसार
देशको ७ वटा प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका बिरामीहरूमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, मधेस प्रदेश बाट १० प्रतिशत, सुदूर पश्चिम प्रदेशबाट २ प्रतिशत र कर्णाली प्रदेशबाट ५ प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए ।

जातजाति अनुसार
केन्द्रमा देशको विभिन्न भूभागबाट सबै जातजातिहरू प्रत्यारोपणको लागि आउने गरेका छन् जसमा आदिवासी जनजातिहरू सबैभन्दा धेरै ५२ प्रतिशत, ब्राह्मण क्षेत्री २६ प्रतिशत, मधेसी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुस्लिम २ प्रतिशत प्रत्यारोपण भएको छ ।

मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हाल सम्म १४७१ जनाको मृर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।
नेपाल सरकारको सातवटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले चार वटा प्रदेशमा (बागमती, गण्डकी, कर्णाली, लुम्बिनी) प्रत्यारोपण सेवा सुरु गरी सकेको छ । बाँकी तीन वाट प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ ।- रातोपाटी
















