तनहुँ, आँबुखैरेनी —
अपांगता भएका बालबालिकालाई समावेशी, गुणस्तरीय र सुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा ‘श्री मित्रता समावेशी विद्यालय’ को औपचारिक शुभारम्भ गरिएको छ।
आइतबार विद्यालय परिसरमा आयोजित विशेष समारोहमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यालयको उद्घाटन गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षा विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थीसहित करिब ५० जनाको सक्रिय सहभागिता रहेको थियो।
२५ जना अपांगता भएका बालबालिकाबाट कक्षा सञ्चालन प्रारम्भ
विद्यालयमा हालसम्म बहिरा, स्वरबोली समस्यायुक्त, मानसिक र शारीरिक अपांगता भएका २५ जना बालबालिकाको भर्ना भइसकेको छ। विद्यालयले उनीहरूलाई मात्र शिक्षा नभई स्वास्थ्य सेवा, थेरापी र मनोपरामर्श समेत एउटै ठाउँमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
“समावेशी शिक्षा अब हाम्रो प्राथमिकता” – अध्यक्ष चुमान
गाउँपालिका अध्यक्ष शुक्र चुमानले समावेशी विद्यालयको स्थापनालाई “शिक्षामा समावेशीतातर्फको सशक्त पाइला” भन्दै यसले सामाजिक उत्तरदायित्व पुरा गर्न प्रेरणा दिएको बताए । “अपांगता भएका बालबालिकालाई मात्र होइन, शिक्षाबाट वञ्चित सबैलाई समेट्ने यो प्रयास ऐतिहासिक छ। पालिकाले यस विद्यालयलाई नीति, बजेट र स्रोत व्यवस्थापनमा निरन्तर साथ दिनेछ,” अध्यक्ष चुमानले भने ।
चुमानले विद्यालयको सञ्चालनमा शिक्षक, कर्मचारी, अभिभावक र स्वयंसेवकहरूको योगदान प्रशंसनीय रहेको बताउँदै सहकार्यको नयाँ अभ्यासको सुरुवात भएको उल्लेख गरे ।
“एसियाकै नमुना विद्यालय बन्ने सम्भावना” – डा. ढुंगाना
काठमाडौँ विश्वविद्यालयका समावेशी शिक्षाविद् डा. बाबुराम ढुंगानाले विद्यालयलाई “एसियाकै नमुना समावेशी विद्यालय बनाउने सम्भावना” भएको बताए। फरक प्रकृतिका अपांगता भएका बालबालिकालाई एउटै शिक्षण थलोमा राखेर समावेशी शिक्षाको अभ्यास गर्नु आफैंमा उदाहरणीय कार्य भएको उनको भनाइ थियो।
चार वर्ष लामो तयारी र समुदायको समर्पण
विद्यालय प्रमुख सन्तोष पौडेलका अनुसार, विद्यालयको स्थापनाका लागि चार वर्ष लामो छलफल, मन्थन र योजनाबद्ध प्रयास गरिएको हो। हाल पठनपाठन र आवासीय व्यवस्थापन स्वयंसेवक शिक्षक तथा कर्मचारीको सहयोगमा सञ्चालन भइरहेको छ।
“समर्पण र विश्वासको परिणाम हो यो विद्यालय” – गंगा देवी घर्ती
राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश अध्यक्ष गंगा देवी घर्ती मगरले विद्यालयको योजना अकल्पनीय र प्रेरणादायी भएको बताउँदै संस्थागत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरीन् ।
४०० विद्यार्थीलाई लक्षित गर्दै
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारीले देशभर १ लाखभन्दा बढी अपांगता भएका बालबालिका अझै पनि शिक्षाबाहिर रहेको उल्लेख गर्दै, भविष्यमा ३०० देखि ४०० बालबालिकालाई सेवा दिने लक्ष्य लिइएको जानकारी दिए । “यो अभियान सफल पार्न सबै तह र पक्षको निरन्तर सहकार्य अपरिहार्य छ,” उनले भने ।
‘ मित्रता समावेशी विद्यालय’ ले अपांगता भएका बालबालिकालाई मात्र होइन, विभिन्न कारणले शिक्षाबाट वञ्चित बालबालिकालाई समेत समेट्दै समावेशी शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्न थालेको छ। सामुदायिक सहभागिता, निःस्वार्थ सेवाभाव र शैक्षिक नवप्रवर्तनको समन्वयमार्फत यो विद्यालय राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै उदाहरण बन्ने दिशामा अगाडि बढिरहेको छ पालिकाले जनाएको छ ।
















