दमौली, १८ असार ।
नेपाल पत्रकार महासंघ तनहुँको चौधौ साधारणसभा मङ्गलबार दमौलीमा सम्पन्न भएको छ । साधारणसभाको गण्डकी प्रदेशका उर्जामन्त्री फणिन्द्र देवकोटाले उद्घाटन गरेका थिए ।
सो अवसरमा मन्त्री देवकोटले देश विकासका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । मन्त्री देवकोटाले देश बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न खोजिएकाले त्यसलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
उनले भने, “सबैतिर बर्बाद भयो भन्ने भाष्यलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्छ । देशको भविष्य छ, देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन जरुरी छ ।” प्रदेश सरकारले संचार क्षेत्रको प्रर्वद्वन र सर्वद्वनमा काम गर्ने समेत प्रतिवद्वता ब्यक्त गरे ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले देश विकासका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पत्रकारले नकारात्मक मात्रै नभई सकारात्मक विषयको उठान गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले देशमा भएका हरेक आन्दोलनमा पत्रकार जगतको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले पत्रकार महासंघ श्रमजिवि पत्रकारहरुको साझा सस्था रहेको बताए ।
शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका सचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपाने,पत्रकार महासंघका संस्थापक सभापति विश्वबन्धु भण्डारी, पत्रकार महासंघकी गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा,पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, डम्वर बहादुर अधिकारी, प्रकाश चन्द्रभट्टराई, निवतमान् अध्यक्ष ओमकार आचार्य,निर्वाचन प्रवन्ध समितिका संयोजक कमलामोहन वाग्ले, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकण्ठ मिश्र, प्रेस युनियनका अध्यक्ष गोरा मिया, प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ,पत्रकार महासंघ तनहुँका उपाध्यक्ष धनपति अधिकारी लगायतले बोलेका थिए । साधारण सभाबाट सचिव प्रतापरानाको सागठनिक प्रतिवेदन र कोषाध्यक्ष बिमला दुवाडीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको थियो ।
सात पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघ तनहुँले जिल्लाका क्रियाशील सात पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ । महासंघले मंगलबार आयोजना गरेको साधारणसभाका अवसरमा विभिन्न पत्रकारिता पुरस्कारबाट सात जना पत्रकार पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा पुर्व अध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तनहुँ आवाज साप्तिाहिकका सम्पादक ऋषिराम पोख्रेललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी रु एघार हजार १ सय ११ रहेको थियो ।
भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघका पूर्व सहसचिव एवं खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपानेलाई प्रदान गरिएको थियो । सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजीवलाल श्रेष्ठलाई प्रदान गरियो ।
वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार सम्झना रसाइलीलाई प्रदान गरिएको थियो । सुरज गुरुङ स्मृति पुरस्कारको राशी रु पाँच हजार र अन्य सबै पुरस्कारको राशी रु दश हजार रहेको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक,सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।
९ बुँदे घोषणापत्र जारी
नेपाल पत्रकार महासंघ तनहुँले साधारणसभाबाट ९ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणपत्रमा तनहुँ जिल्लाका सरकारी निकायबाट उपलब्ध गरिने विज्ञापन एकद्वार प्रणालीबाट गर्न माग गरिएको छ । जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयबाट उपलब्ध हुने विज्ञापन जिल्लाकै सञ्चार माध्यममा उपलब्ध हुने गरी एकद्वार प्रणालीबाट लागु गर्न माग गरेको हो ।
घोषणापत्रमा पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न माग गरिएको छ । त्यस्तै शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघ सङ्गठनसँग सहयोगका लागि अपिल गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
घोषणापत्रमा निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक र तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । यसैगरी नजिकिदै गइरहेको मनसुन र मनसुनजन्य विपद्बाट जिल्लामा हुन सक्ने बाढीपहिरोको क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई हार्दिक अनुरोध गरिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४ औं साधारणसभा तथा सम्मान एवं पुरस्कार अर्पण समारोहमा सहभागी हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण आमन्त्रित महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नेपाल पत्रकार महासंघको आसन्न केन्द्रीय, प्रदेश र जिल्ला शाखाको अधिवेशन सदस्यता विवाद तत्काल समाधान गरी भव्य र सभ्य रुपमा सम्पन्न गर्न आव्हान गरेको छ ।
तनहुँको पत्रकारिता क्षेत्रको वृत्तिविकासमा योगदान पु¥याउन अक्षयकोष स्थापना गर्नुहुने रणबहादुर गुरुङ, भाग्यशाली ढुङ्गाना, कृष्णकुमार श्रेष्ठ, मुक्तिनाथ खनाल, कमलामोहन वाग्ले, उत्तम÷सुमन भट्टराई, प्रदीप काफ्लेलाई धन्यवाद ज्ञापन गरेको छ ।
पुर्व अध्यक्षहरु सम्मानित
नेपाल पत्रकार महासंघ तनहुँको चौधौ साधारणसभा तनहुँका शाखाका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा निवतमान् अध्यक्ष ओमकार आचार्य, संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी,पुर्व अध्यक्षहरु मुक्तिनाथ खनाल ,प्रदीप काफ्ले,प्रेम प्रसाद पौडेल,डम्वर बहादुर अधिकारी, र प्रकाशचन्द्र भट्टराईलाई शाखाको संस्थागत विकासमा बिशेष योगदान पु¥याए वापत सम्मान गरिएको थियो ।
डा. कडेंल सम्मानित
१४ औं साधारणसभाको अवसरमा शाखाका पुर्व सचिव वसन्त कंडेलले ‘स्थानीय सरकारको भाषा निती’बिषयमा मा विद्यावारिधि उपाधि हासिल गरेकोमा सम्मान गरीएको हो ।
निर्वाचन प्रवन्ध समितिलाई सम्मान
सो अवसरमा महासंघको गत निर्वाचन सफतापुर्वक सम्पन्न गरेकोमा निर्वाचन प्रवन्ध समितिका संयोजक कमलामोहन वाग्ले,सदस्यहरु त्रिभुवन श्रेष्ठ र शिवदत्त ढकाललाई समेत सम्मान गरिएको थियो ।
सदस्य पौडेल सम्मानीत
यसैगरी नोपल पत्रकार महासंघ तनहुँका सदस्य श्रीहरी पौडेललाई कार्य समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो ।
















