तनहुँ
गणतन्त्र दिवशको अवशरमा तनहुँमा ३ दिने कार्यक्रम गरि भब्य रुपमा मनाइने भएको छ । आगामी जेठ १४ , १५ र १६ गते साँझ दिपावली समेत गरि गणतन्त्र दिवश मनाउन लागिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले समन्वय प्रमुख वाग्लेको संयोजकत्वमा जिल्ला स्तरीय मूल समारोह समिति गठन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले बताए ।
बैठकले गणतन्त्र दिवशको महत्त्वको बारेमा रेडियो परिसम्बाद कार्यक्रम गर्ने, १४ गते बिहान ७.३० बजे दमौली बजार र ब्यास गुफा क्षेत्र सरसफाइ गर्ने, उक्त दिन बिहान रक्तदान कार्यक्रम गर्ने र ‘गणतन्त्र सुदृढीकरणका लागि युवाको भूुमिका’ शीर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
१५ गतेका दिन बिहान अनशन चौतारीमा भेला भई प्रभातफेरी गर्ने, झणडोत्तलन कार्यक्रम , समन्वय हलमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने , र नागरिकका लागि निशुल्क स्वस्थ्य जाँच गरिने भएको समन्वय समितिका उप–प्रमुख बासु थापाले जानकारी दिए।
त्यसैगरी जेठ १६ गते बिहान आदिकवि भानुभक्त क्याम्पसमा वृक्षारोपण , दमौली अस्पतालका बिरामी र कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने र दिउँसो महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फूटबल प्रतियोगिताको आयोजना गरिएको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
जिल्लामा रहेका अन्य स्थानीय तहले पनि विविध कार्यक्रम गरि मनाउनका लागि पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।