सोतीपसल । ठेकेदारको ढिलासुस्ती र नगरपालिकाको उदासिनताले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३ र ४ जोेड्ने चर्दी खोलामा निर्माणाधीन मोटरेबल पुल निर्माण भइसक्नु पर्ने बेलासम्म पनि आधा पनि पुरा हुन सकेको छैन ।
ठेकेदारले काममा ढिलासुस्ती गर्दा पनि नगरपालिका लाचार भएर काम गर्नका लागि ठेकेदारलाई दबाब दिन नसक्दा पुल निर्माणको काम अलपत्र जस्तै परेको स्थानीयले बताएका छन् ।
मध्यनेपाल नगरपालिकाको वडा नं। ३ सोतीपसल र वडा नंं ४ को चर्दी बजार जोड्ने मोटरेबल पुल चितवनको भरतपुरमा रहेको केबिसी, प्रसाद जे।भी।ले निर्माण गरिरहेको छ । लागत स्टेमेट ३ करोड ७० लाख ९१ हजार ४२५ रुपैयाँ रहेको २० मिटर लम्बाइ र १० मिटर चौडाइकोे सिंगल स्पानको आरसिसि मोटरेबल पुल निर्माणका लागि ठेकेदारले २ करोड २५ लाख ४१ हजार ७७७ रुपैयाँ ९भ्याटसहित०मा नगरपालिकासंग सम्झौता गरेको थियो ।
२०७८ माघ २२ गते मध्यनेपाल नगरपालिकासंग पुल बनाउने सम्झौता गरेको ठेकेदारले २०८० असार मसान्तसम्म पुलको निर्माण कार्य सक्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत काम मात्र सम्पन्न गरेको छ । ठेकेदारले पुलको दुवैतर्फको भागमा पिलर उठाउने काम पनि पुरा गर्न नसकेको स्थानीयले बताए ।
निर्माण सक्नुपर्ने असार मसान्तसम्म आधा काम पनि नभएपछि नगरपालिकाले ठेकेदारलाई काम गर्ने अवधि थप गरिदिएको छ, तर कामले गति नलिएको गुनासो स्थानीयको छ ।
बर्षातका बेला खोलो बढेर स्थानीयलाई आउ जाउ गर्नै समस्या छ । वरिपरी झोलुंगे पुलसमेत नहुँदा चर्दी र सोतीपसलका स्थानीय जोखिम मोलेर खोलो तर्न बाध्य छन् । खोलामा बाढी आउँदा सवारी साधन समेत खोलो तर्न सक्दैनन् ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले समयमै काम सक्न ठेकेदारलाई पटक पटक ताकेता गरिए पनि समयमा काम सम्पन्न हुन नसकेको बताए । यसपटक ६ महिनाका लागि म्याद थप गरिएको र जसरी पनि थपिएको म्याद भित्रै काम सक्न निर्देशन दिइएको मेयर पाण्डेले बताए । उनले भने “चर्दीको पुल हाम्रो प्राथमिकता हो । हामीले हाम्रो तर्फबाट पुल सम्पन्न गर्न ठेकेदारलाई ताकेता गरिरहेका छौं । आशा छ अब छिटै पुल बन्ने छ ।”
मध्यनेपाल नगरपालिकाको प्राविधिक शाखाका सब इन्जिनियर ठाकुरप्रसाद घिमिरेले ठेकेदारले सम्झौता अनुसार समयमै काम नगरेपछि उसलाई भुक्तानी पनि कामको आधारमा मात्र गरिएको जानकारी दिए । घिमिरेका अनुसार अहिलेसम्म पुलको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ ।
पुल सक्नका लागि ठेकेदारले कार्यतालिकासहित ६ महिनाको म्याद थप मागेपछि नगरपालिकाको गत हप्ता सम्पन्न कार्यपालिका वैठकले म्याद थप गरिदिएको हो । अब आगामी २०८० माघ २२ भित्र ठेकेदारले जसरी पनि काम सक्ने प्रतिबद्धता जनाएको सब इन्जिनियर घिमिरेले बताए ।