images
images
images

जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा सेवा,सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दो

images

दमौली
जीपी कोइराला राष्ट्रिय उपचार केन्द्रमा सेवा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।
स्थापनाका केही बर्ष सम्म सेवा प्रवाहमा केही कमी आएपनि अहिले अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । अस्पतालमा सरदर दैनिक पाँच सय बिरामीले बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । ५० सय शैयाको यो अस्पताल संघीय अस्पताल हो । तनहुँ सहित छिमेकी ३ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।
जीपी कोइराला राष्ट्रिय उपचार केन्द्रमा कार्यकारी दिर्नेश्क मेडिकल डा रामकुमार श्रेष्ठ बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउछन् । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको श्रेष्ठको दाबी छ ।
पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)को टिकट बिहान १०ः०० बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा रहेने गर्दछ । विशेषज्ञ ओपिडी पनि सो अवधिमा संचालनमा रहेको छ । अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको भागमा पार्क समते निर्माण गरिएको छ । अस्पतालमा सेवा प्रभावमा सहजताका लागि अझै सुधारका काम भइरहेको डा. श्रेष्ठले बताए ।
नयाँ भवनमा श्वास प्रश्वासको छुट्टै उपचार कक्ष संचालनमा तयारी रहेको छ । आकस्मिक कक्षमा आएका बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध हुने गरी अस्पतालमा काम भएको अस्पतालका निराजन अधिकारीले बताए ।
थाइराइड परीक्षण सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो ।
उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । “अस्पतालको सेवा विस्तार गर्ने क्रममा ‘थाइराइड उपचार सुरु गरेका छौँ, यसले तनहुँका अतिरिक्त आसपासका सर्वसाधारणलाई पनि सहज हुनेछ’, उनले भने ।
यहाँ थाइराइड परीक्षण नहुँदा सर्वसाधारण पोखरासम्म जानुपर्ने बाध्यता थियो । उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएपछि तनहुँसँगै छिमेकी स्याङ्जा र पाल्पाका केही भागका सर्वसाधारणलाई सहज भएको छ ।
थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् ।
केन्द्रमा केही दिन अगाडिमात्रै शवगृह पनि सञ्चालनमा आएको छ । शवगृहमा मोइस्चर चेम्बर मेसिन जडान गरिएको छ । उक्त शवगृहमा चार शव राख्ने क्षमता रहेको छ । शवगृह नहुँदा शव व्यवस्थापनका लागि सकस हुँदै आएको थियो ।
केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएका छन् ।
केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सहज भएको छ । अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनेशनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS