कात्तिक २, दुलेगौंडा ।
नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य प्रताप लाल श्रेष्ठ(पिएल)ले यति बेला तनहुँ निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा ‘ख’का विभिन्न गाउँबस्तीमा पुगेर मतदाता भेटलाई तीव्र पारेका छन् । प्रदेश सभा सदस्यका लागि उम्मेद्वार रहेका श्रेष्ठले गाउँ वस्तीमा नेकपा एकिकृत समाजवादीको चुनाव चिन्ह (कलम) र आफ्नो उम्मेदवारीबारे जानकारी गराउदै आएका छन् । मंगलबार भिमाद नगरपालिका –८ को भागर, सिम्ले, अरौदी, बाह्रविसे र वडा न ९ को जरेवर लगायतका स्थानमा पुगेर उनले आफ्नो उम्मेदवारीबारे जानकारी दिए । जनता माझ पुराना र सहयोगी नेताको छवि बनाएका श्रेष्ठले मतदाताको घरदैलोमा पुग्दा नागरिकहरुमा उत्साह देखिएको बताए । उनले आफ्नो उम्मेदवारीबारे जनताले जानकारी पाएको र निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त गरेको भन्दै खुशी ब्यक्त गरे ।
मतदाता माझ गठबन्धनभित्र आफुहरु नभएको जानकारी दिदै आएका श्रेष्ठले मतदाताले गठबन्धन बाहिर रहेर उम्मेदवार बन्नुलाई सकरात्मक रुपमा लिएको जानकारी दिए । उनीसँगै प्रदेश सभामा समानुपाति उम्मेदवार रहेको नेकपा एसका केन्द्रिय परिषद सदस्य भक्त रसाईली सहित भिमाद नगर कमिटीका सदस्यहरु मतदाता भेटमा ब्यस्त हुन थालेका छन् ।
तनहुँमा गठबन्धन बाहिर रहेको विद्रोही शक्तिको रुपमा चिनाउदै आएको नेकपा एसका उम्मेदवारहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी निर्णायक शक्ति भएको दावि गर्दै आएका छन् । यो पार्टीबाट तनहुँ १ क मा विद्यानाथ ढकाल, ‘ख’मा कलिला खान, तनहुँ २ ‘क’मा दुर्गाकुमार श्रेष्ठ र २ ‘ख’मा श्रेष्ठ प्रदेश सभाको उम्मेदवार बनेका छन् ।