काठमाडौँ
निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला योजना छनोट र योजना बाँड्ने तयारी भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका हुन्। कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन लागिएको हो ।
प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ । निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने आयोगको भनाई छ ।