तनहुँ
तनहुँमा सम्बन्ध विच्छेदको मुद्दा बढ्न थालेको छ । तनहुँ जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका २ हजार ५ सय थान मुद्दामध्ये ७१९ सम्बन्धविच्छेदको रहेका छन् ।
९५९ थान मुद्दा आव २०७७/७८ बाट आएका हुन भने १ हजार ५४१ वटा मुद्दा गत आवमा दर्ता भएका हुन । जसमध्य १ हजार ३६५ मुद्दा फर्छौट भए भने १ हजार १३५ मुद्दा जिम्मेवारी सरेर चालु आवमा आएको जिल्ला अदालतले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ४८९ जोडिले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ७१९ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको संख्या २३० वृद्धि भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
यस्तै जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए ।
गत आवबाट जिम्मेवारी सरेर चालु आवमा २४३ थान मुद्दा आएको अदालतका श्रेस्तेदार (उपसचिव) मिनबहादुर कुँवरले जानकारी दिए ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले छिटो छरितो मुद्दा फैसला गर्ने गरेका कारण न्याय सम्पादनअन्तर्गत गत असार मसान्तसम्ममा सुधार आएको अदालतका कर्मचारीले बताएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा जम्मा लगत ५७१ मुद्दामा ३८२ फर्छौट भएको थियो । जसमा १८९ जिम्मेवारी सरेर आर्थिक वर्ष २०७७÷७८ मा ६७८ मुद्दा भएकोमा ४६३ मुद्दा फर्छौट भएको थियो ।
जसमा २१५ वटा मुद्दा जिम्मेवारी सरेर आर्थिक वर्ष २०७८/७९ मा आएको थियो । र गत आव २०७८÷७९ मा जम्मा लगत ९३४ मध्य फैसला ६९१ वटा भएको जिल्ला अदालत तनहुँले जनाएको छ । जसबाट २४३ मुद्दा चालु आवमा जिम्मेवारी सरेर आएको छ ।