
तनहुँ । जिल्ला समन्वय समिति तनहुँको निर्वाचन यही असार १३ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधान रहेपनि केहि ढिला गरी जिससको चुनावको मिति तय भएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार ९ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ ।
यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् ।
चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहेको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि असार १२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
जिल्ला समन्वय समिति गठनका लागि तनहुँमा कुनै पनि दलको एकल बहुमत पुगेको छैन । त्यसैले सबै दललाई तलमेल आवश्यक छ । कांग्रेसले माओवादीसंग तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्ने बताएको छ । एमालेले तालमेल गर्न नसक्ने भएको छ ।
नेपाली कांग्रेसले तनहुँमा एकल जिल्ला समन्वय समिति गठन गर्न नसक्ने भएको छ । निर्वाचन परिणामअनुसार तनहुँको जिल्लासभामा कांग्रेसको एकल बहुमत नपुग्ने भएको हो ।
स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूको स्पष्ट बहुमत पुग्छ ।
जिल्लामा १० स्थानीय तह छन् । जिल्लामा सो समिति गठनका लागि मतभारको सङ्ख्या २० छ । यहाँ काँग्रेसको मतभार १० छ । यता एमालेको ६ र माओवादी केन्द्रको ४ जना रहेको छ ।
कांग्रेसबाट जिल्लासभामा व्यास नगरपालिकाका प्रमुख र उपप्रमुख, भानु नगरपालिकाका प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, ऋषिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाका अध्यक्ष, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष र म्याग्दे गाउँपालिकाका उपाध्यक्ष गरी १० जना रहनेछन् ।
यस्तै नेकपा एमालेबाट भिमाद नगरपालिकाका प्रमुख र उपप्रमुख, घिरिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाका अध्यक्ष र म्याग्दे गाउँपालिकाका अध्यक्ष गरी ६ जना रहनेछन् ।
यतै माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख र देवघाट गाउँपालिकाका उपाध्यक्ष रहनेछन् ।
२० सदस्यीय जिल्लासभामा एकल बहुमत नहुने भएकाले कांग्रेसले जिल्ला समन्वय समितिको लागी माओवादी केन्द्रको सहयोग आवश्यक रहन्छ । जिल्ला समन्वय समितिका लागी ११ सिट आवश्यक हुन्छ ।
यसअघि २०७४ मा काँग्रेसले एकल समन्वय समिति बनाएको थियो ।
समन्वयमा काङ्ग्रेसले प्रमुखसहित ५ र माओवादीले उपप्रमुखसहित ४ पद लिने बारे गठबन्धनमा छलफल भएको जनाईएको छ ।