ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गत २०७४ को निर्वाचनमा पनि ऋषिङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।
अहिले गत निर्वाचनमा जितेका प्रतिनिधि नै कांग्रेसले ऋषिङमा उम्मेदवार बनाएको थियो ।
सोही अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा पुन: राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा पुन: गिनु थापा मंगलबार बिजयी भएका छन् ।
विसं ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनीहरु निर्वाचित भएर एक कार्यकाल काम गरिसकेका हुन् ।
अध्यक्षमा विजयी श्रेष्ठले ३ हजार ३३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी नेकपा एमाले हरिराज कँडेलले २ हजार ७९२ मत पाए । त्यसैगरी स्वतन्त्र उम्मेद्वार श्रीराम थापा पुतली चिन्हबाट ३ हजार ३३ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा दोहोरिएकी गिनुमाया थापाले ४ हजार ४२९ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका मधुप्रसाद थापाले ३ हजार ४८९ मत पाएका छन् ।
ऋषिङ गाउँपालिकाको ८ वटा वडा मध्य नेपाली काँग्रेसले २,३,४,५ र ६ जितेको छ । ऋषिङ्ग-१ नेकपा माओवादी केन्द्रले जितेको छ भने ऋषिङ ७ र ८ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।
गत निर्वाचनमा पुरै पालिका क्लिन स्विप गरेको नेपाली कांग्रेसले यसपालिका ३ वटा वडा जित्न सकेन ।