तनहुँ । तनहुँको व्यास नगरपालिका ८ रिस्तीमा बुधबार पुन: मतदान हुने भएको छ । व्यास-८ को गा.वि.स भवन फेदी मतदान केन्द्र (क) र (ख) को पुनः मतदान बुधवारका दिन विहान ७ बजे देखि हुँदैछ ।
मतदान कार्य सम्पन्न नभएसम्म उक्त मतदान केन्द्रको क्षेत्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमति प्राप्त ब्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारी बाहेक अन्य अनधिकृत ब्यक्तिको प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।
गत वैशाख ३० गते सोही स्थानमा व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा जोशी घाइते भएका थिए । निर्वाचन आयोगले ३० गतेको मतदान रद्द गरी जेठ ४ गते पुन:मतदानको सुचना जारी गरेको थियो ।
घाइते जोशीको अहिले काठमाडौ स्थित फ्रन्टलाइन अस्पतालमा उपचार भईरहेको छ ।