आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । माओवादीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् ।
सोमबार राति सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा चुमानले ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले २ हजार २ ३० मत र नेकपा एमालेका ऋषि केसीले १ हजार ८०४ मत प्राप्त गरे । स्मरण रहोस अध्यक्षमा पराजित कांग्रेसका गिरबहादुर थापा आँबुखैरेनी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै दुर्गा अर्यालले २ हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छिन । अर्यालको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत र नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत प्राप्त गरीन ।
आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्ष, नेपाली काग्रेसले २ वटा वडाध्यक्ष र नेकपा एमालेले एउटा वडाध्यक्ष जितेको छ ।
माओवादीले आँबुखैरेनीको वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।
यो जित ऐतिहासिक भएको माओवादी नेताहरुको भनाई छ ।