
तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए । सो कुरा प्रधानमन्त्री देउवाले शनिबार तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बताएका हुन् ।
गठबन्धनको विरुद्धमा रहेका तत्वहरुलाई स्थानीय तहको मैदानबाटै जवाफ दिनुपर्ने प्रधानमन्त्री देउवाले बताए । उनले अगाडी भने ‘गठबन्धन सफल पारेर छोड्नुपर्छ, हामि सफल बनाउछौं ।’
‘स्थानीय तह होइन स्थानीय सरकार हो, यहाँ मात्रै होइन प्रदेश र केन्द्र पनि छ ।’ प्रधानमन्त्री देउवाले भने ‘त्यसैले गठबन्धन सफल पारेरै छोड्नुपर्ने राष्ट्रिय आवश्यक्ता हो ।’
‘यो आजको ऐतिहासिक राष्ट्रिय आवश्यकता हो ।’ उनले भने ‘गठबन्धन असफल पार्न लागिपरेका स्वदेशी, विदेशी जुनसुकै तत्व भएपनि गठबन्धन सफल पार्ने नेपाली कांग्रेसको एउटा मात्रै उद्देश्य रहेको छ ।’
‘प्रजातन्त्रलाई स्थायी बनाउन नेपाली कांग्रेसले कुनैपनि हालतमा गठबन्धन सफल बनाउन लागिपर्छ ।’ प्रधानमन्त्री देउवाले भने ।
‘तनहुँ रामचन्द्र पौडेलको जिल्ला भएकाले कांगेस र गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउनुहुन्छ भन्ने आशा गर्दछु ।’ उनले भने ‘गठबन्धनलाई सफल पारौ र गठबन्धनको खिलाफमा लाग्ने तत्वलाई कडा जवाफ दिन अनुरोध गर्दछु ।’
उक्त चुनावी सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी लगाएतले बोलेका थिए ।