तनहुँ । सडक मर्मत गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शुक्लागण्डकी नगरपालिका वडा नं. २ का बासिन्दाले आज आईतबार पनि १ घण्टा चक्काजाम गरेका छन् ।
भत्किएको पृथ्वीराजमार्गमा उड्ने धुलो, हिलो र खाल्डाखुल्डीले सास्ती दिएको भन्दै शुक्लागण्डकी २ का नागरिक ३ दिनदेखि सडक आन्दोलनमा छन् । सडक संघर्ष समितिका संयोजक ठाकुर खनालले धुलो नियन्त्रण नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
पटक पटक वडा, नगरपालिका, सडक विभाग र राजमार्ग विस्तार आयोजना कार्यालयलाई सडक मर्मत गरि धुलो नउड्ने वातावरण तयार पार्न माग गरेपनि सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए ।
पृथ्वीराजमार्गको दुलेगौंडा कोत्रे खण्डको कालोपत्रे भत्किएको छ । सडकमा सयौं खाल्डाखुल्डी छन् । दैनिक १४ सय बढि सवारी साधन चल्ने राजमार्गमा उड्ने धुलोले स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीय बासिन्दा बताउँछन् ।
धुलोले स्कुटर र मोटरसाईकलका यात्रुलाई आँखा देख्न मुस्किल हुने गरेको चालक बुद्दि थापाले बताए । खाल्डोमा जम्ने पानी र सडकको हिलोले पैदल यात्रु र २ पाङ्ग्रे सवारीका यात्रु लाई आवतजावत गर्न कष्ट भएको थापाको भनाई छ।
एडीबीको अनुदान सहयोगमा पृथ्वीराजमार्ग राजमार्गलाई ४ देखि ६ लेनको बनाउन काम शुरु भईसकेपनि जिर्ण सडकको २ वर्ष यता मर्मत नहुदाँ स्थानीय र यात्रु हैरान बनेका छन् । सडक विस्तार आयोजनाले धुलो नियन्त्रणका लागि दैनिक पानी छर्कने गरेको बताएपनि स्थानीयले नियमित नभएको र झारा टार्ने मात्रै काम भएको गुनासो गरेका छन् ।
आयोजनाले खाल्डा पुर्न माटो हाल्ने गरेकोले धुलो र दुर्घटनाको जोखिम झनै बढ्दै गएको भन्दै आक्रोशित स्थानीयले तत्काल गुणस्तरीय सामाग्री प्रयोग गरेर सडक मर्मत गर्न अनुरोध गरेका छन् । इन्जिनियर सुशान्त अधिकारीले धुलो नियन्त्रणको लागि आयोजना कार्यालयको ध्यानाकर्षण भएको प्रतिक्रिया दिए ।