damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

व्यास नगरपालिकाको मेयरको उम्मेदवार बन्न कांग्रेसका १५ जनाले दिए निवेदन, जिसस प्रमुखदेखि हालका मेयरसम्म

तनहुँ । तनहुँको ब्यास नगरपालिका प्रमुखको उम्मेदवार बन्न आकांक्षा राख्दै १५ जनाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा निवेदन दिएका छन् । ३० वैशाखमा हुने स्थानीय चुनावका लागि ब्यासको मेयर चयनका लागि कांग्रेसले निवेदन माग गरेको थियो ।

निवेदन दिनेमा हालका मेयरदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्म छन् । जिल्ला सदरमुकाम दमौली पनि पर्ने भएकाले ब्यास अन्य पालिकाभन्दा बढी चर्चामा आउने गर्छ ।

मेयर पदमा आकांक्षा राख्दै निवेदन दिनेमा हालका मेयर बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, रघुनाथ पौडेल, देवकुमार श्रेष्ठ, लक्ष्मीभक्त खनाल, विश्व बाँस्तोला अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ र दीपकराज जोशी छन् ।

कांग्रेस स्रोतका अनुसार १५ जनाले निवेदन दिए पनि हालका मेयर न्यौपानेसहित जिल्ला उपसभापति देवकुमार श्रेष्ठ र जिल्ला कमिटीका पूर्वसचिव विश्व बाँस्तोलामध्ये एकले मेयरको टिकट पाउने देखिन्छ ।

त्यस्तै उपप्रमुखका लागि कांग्रेसका ७ जनाले निवेदन दिएका छन् । उपप्रमुखमा हालकै उपप्रमुख मीरा जोशी, नारायणी अधिकारी, कल्पना कोइराला पोखरेल, इन्दिरा दरै, नोमा थापा, मुन्नी हमाल ठकुरी शाही, विणा कैनीले उपप्रमुख पदका लागि निवेदन दिएका छन् ।

ब्यासमा अघिल्लो स्थानीय चुनावमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले नेकपा एमालेका उम्मेदवार शंकरनायण श्रेष्ठलाई करिब ४ हजार मतान्तरले विजयी हासिल गरेका थिए । उपप्रमुखमा कांग्रेसकै मिरा जोशीले नेकपा माओवादी केन्द्रकी उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेलाई करिब १० हजार बढी मतान्तरले पराजित गरेकी थिइन् ।

तनहुँमा ४ नगरपालिका र ६ वटा गाउँपालिका छ ।

प्रतिक्रिया दिनुहोस्

sukala