तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका आकांक्षी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीका छोरा दिपकराज जोशीको निर्वाचन सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।
बुधबार बिहान व्यास नगरपालिका २ बालमन्दिर लाईनमा स्थापना गरिएको सो कार्यालयको संविधान सभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्णप्रसाद पोख्रेलले रिबन काटेर उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै जोशीले आफु पेशाले इन्जिनियर भएको हुँदा व्यास नगरपालिकाको फोहोर सफा गर्न र नगरवासीको सेवा गर्न उम्मेदवारी दिन लागेको बताए । जोशीले व्यास नगरपालिकामा हाल ३५ करोड रुपैयाँ घाटमा चलेको तथ्यांक प्रस्तुत गर्दै अव जित्ने मेयरले काम गर्ने भन्दा पनि घाटा तिर्नेमा मात्रै उसको ध्यान जाने बताए ।
भोट दिँदा कुनै नेतालाई नभई व्यासको वास्तविक मेयर हुने मान्छेलाई दिनु पर्ने उनको भनाई थियो । ‘जुन पार्टीको राम्रो मान्छे हुन्छ, उसैलाई भोट दिनु पर्छ, पार्टी भन्दा व्यक्ति हेर्नु पर्छ ।’ उनको भनाई थियो ।
जनताको कुलो बनाउने ३ लाख दिन नसक्ने नगरपालिकाले बिसौं लाख रुपैयाँ खर्च गरेर म्याराथन प्रतियोगिता आयोजना गरेको जोशीको भनाई थियो । जनताले नै प्रश्न उठाउन नसक्ने भएको कारण नगरपालिकामा मनोमानी भईरहेको उनले बताए । एउटा राम्रो दमकल पनि छैन । भएको दमकलको पनि राम्रो परिचालन गर्न सकिएको छैन भन्दै उनले एक पटक आफुलाई भोट दिनुस् व्यासको फोहोर सफा गर्ने बताए ।
व्यासमा बेथिती निकै बढेको भन्दै जोशीले ६५ लाख खर्चेर जनप्रतिनिधिको लागि गाडी खरिद गरिएको तर एम्बुलेन्समा १० लाख खर्च गर्न डराउँने गरेको बताए । अव यस्तो प्रबृत्तिको अन्त्य हुनु पर्ने भन्दै उनले त्यसैको लागि आफु चुनाबी मैदानमा उत्रिएको बताए ।
जनप्रतिनिधि र कर्मचारीको भत्तामा मात्रै एक आर्थिक वर्षमा ४ करोड रुपैयाँको खर्च भईरहेको भन्दै उनले आफु मेयरमा निर्वाचित भए त्यस्ता बेथितीको अन्त्य गर्ने बताए । जोशीले बुधबार नेपाली काँग्रेसको कार्यालयमा गई मेयर पदमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।
सो कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु सुकुमलाल गुरुङ र हरिशरण पण्डितले यस पटक व्यास नगरपालिकाको निर्वाचनमा जोशीलाई जिताउनु पर्नेमा जोड दिएका छन् ।