
तनहुँ । तनहुँ समाज हङकङले मुटुमा समस्या भएकी बालिका र मृगौला पीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ ।
शनिवार दमौलीमा दुबै पीडितका परिवारलाई समाजले रु ३ लाख ९० हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।
तनहुँको व्यास–१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारको लागि १ लाख ९५ हजार हस्तान्तरण गरिएको हो ।
ती बालिकालाई जन्मिदैमा मुटुको समस्या रहेको छ साथै उनको अप्राकृतिक रुपमा मलद्धार र यौनाङसँगै जोडिएकाले उक्त समस्याको शल्यक्रिया गर्नका लागि पनि सहयोग गरिएको तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भिमराज गुरुङले जानकारी दिए ।
उनको हाल गंगालालह्रदय रोग केन्द्र काठमाण्डौमाउपचार भइरहेको उनकी आमा तोरन थापाले जानकारी दिइन् ।
छोरीलाई एकै साथ दुई वटा समस्या देखिएको र घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गरेको पीडित बालिकाकी आमाले बताइन् ।
साथै समाजले आजै दुबै मृगौला फेल भएकी सोही वडाको ठिन घर भएकी १९ वर्षीया खुस्बु राना (थापा)को उपचारार्थ पनि १ लाख ९५ हजार नगद रकमहस्तान्तरण गरेको छ ।
हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुङ्गेबाट संकलित उक्त रकम दुबै जना बिरामीका परिवारलाई आधा/आधा हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम समाजका निवर्तमान अध्यक्ष गुरुङ र समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले संयुक्त रुपमा पीडितका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकम समाजका कोषाध्यक्ष कुश बहादुर थापा र आजीवन सदस्य विक्रम थापाको संयुक्त संयोजकत्वमा संकलन गरिएको संस्थाका सचिव सुवित गुरुङले जानकारी दिए ।
वडा कार्यालयको सिफारिस सहितपीडित परिवारको आर्थिक अवस्थानिकै कमजोर रहेको भन्ने पत्र समाजलाई प्राप्त भएपछि सोही अनुसार रकम संकलन अभियान सुरु गरिएको उनले बताए ।
रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले गम्भिर रोग लागेकाआर्थिक अवस्था कमजोर भएका परिवारलाई समाजले विभिन्न समयमा सहयोग गर्दै आएको बताए ।
“तनहुँ समाज हङकङमा आवद्ध साथीहरुको सामाजिक कामप्रतिको समपर्ण देखेर म आफुलाई पनि सामाजिक काममा थप लगाव बढेको छ” उनले भने । साथै प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।
सोही अवसरमा समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले रोगको प्रकृति र पीडित परिवारको अवस्थाअनुसार सहयोग गर्ने गरेको बताए ।
“हामीलाई पीडित परिवारको निवेदन प्राप्त भएपछि स्थिती हेरेर प्राय सबैलाई सहयोग गरेकै छौँ”उनले भने ।
तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुख पीडामा परेको खबर आउना साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको छ ।