
तनहुँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि छनोट भएका विद्यालयको सूची सार्वजनिक गरेको छ । जसमा तनहुँका दुई वटा विद्यालय छनोट भएका छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनी देव माध्यामिक विद्यालय र भानु नगरपालिका मानेचौकाको त्रिभुवन माध्यमिक विद्यालय उक्त कार्यक्रमका लागी छनोट भएको हो ।
पञ्चमुनी देव मावि कृषि र पशुपालन कार्यक्रमका लागी छनोट भएको हो भने त्रिभुवन मावि बालि र पशु विज्ञान कार्यक्रमका लागी छनोट भएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत पढ्दै कमाउँदै कार्यकम (लर्निङ बाइ अर्निङ) विद्यालय सहयोग कार्यक्रमका लागि देशभरका १४० सामुदायिक विद्यालय छनोट गरेको छ ।
प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँच वटा विद्यालय छनोट गरिएको केन्द्रले जानकारी दिएको छ । आवेदन परेका विद्यालयहरुलाई जिल्लाको मूल्यांकन समितिले छनोट गरिएको आधारमा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालय छनोट गरिएको केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए ।
कार्यक्रम सञ्चालनका लागि ७० जिल्लाबाट मात्रै आवेदन परेको केन्द्रका सूचना अधिकारी जोशीले बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न यो कार्यक्रम ल्याएको थियो । यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ ।
छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।