तनहुँ । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
अदालतका उप-रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।
फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिइएको शाहका वकिल कमलामोहन वाग्लेले बताए ।
१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौ दिन शाह अदालत पुगेका हुन् ।
अभिनेता पल शाहले म्युजिक भिडियो सुटिङका क्रममा आफूलाई फकाइफुलाइ पटकपटक जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिग गायिकाले फागुन ११ गते जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शाह फागुन १५ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।