तनहुँ । गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले एक घर, एक धारा प्रदेश सरकारको अभियान रहेको बताएका छन् ।
साविक जामुने–८ हाल म्याग्दे गाउँपालिका–२ लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
बिश्वमा पानीमा दोस्रो देशका नागरिकहरु पानी नपाएर काकाकूल बन्नुपर्ने अवस्था आउन नदिन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेको उनले बताए ।
उनले भने ‘भोलीका दिनमा हामी रहुँला नरहुँला तर हामीले बनाएका नीति अनुरुप निरन्तर काम गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।’
हिजाका दिनमा एमाले, माओवादी केन्द्रको बामगठबन्धन हुँदाको समयमा पर्यटन, उर्जा, कृषि, भौतिक संरचना निर्माण,सामाजिक न्याय लगायतका क्षेत्रलाई प्राथामिकतामा राखेर नीति बनाइएको उनको भनाई थियो ।
सोलारका माध्यमबाट पानी लिफ्ट गर्दै आएकोले घाम नलागेको समयमा पानीको चर्को समस्या भोग्नुपरेको उपभोक्ताको माग प्रति ध्यानाकर्षण भएको मन्त्री थापाले बताए। पानी लिफ्टीङका लागि बिद्युतीकरणको लागि आवश्यक पहलकदमी भैरहेकोले निराश नहुन आश्वसन दिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडास्तरीय सबै राजनीतिक दल, उपभोक्ताबासीहरुको सक्रिय भूमिका रहेका कारण आयोजना सम्पन्न गर्न सहयोग मिलेको बताए । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शम्भु अधिकारीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै बिकास निर्माणका कार्यले गति लिएको उनाल्रे बताए ।
नेकपा माओवादी केन्द्र उपत्यका बिशेष सदस्य सोमबहादुर थापाले खानेपानीको मुल दर्ता देखि संघीय सरकार,प्रदेश सरकारमा ठुलो कसरत गर्नुपरेको बताए ।
नेपाल सरकारको सहयोगमा निर्माण भएका विकासका कार्यक्रमलाई राजनीतिकरण गरिएको प्रति उहाँले आक्रोश व्यक्त गरे । निर्वाचनको सममुखमा आएर मेरो पार्टीले गर्दा भएको,आएको भनि चर्चा गरिनु जायज नभएको उनको भनाई थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव श्रीकुमार श्रेष्ठले नेपालका ठूला राजनीतिक दलले एमसीसी पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । विकास निर्माणका कार्यमा कसैले पनि राजनीतिक हस्ताक्षेप नगरी आफ्नो गाउँ,टोल समाज समृद्ध बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए।
जामुने–८ लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष चन्द्र बहादुर राना,खानेपानी उपभोक्ता समितिका सचिव ईश्वरराज काफ्ले,सदस्य तिलक थापामगर लगायतका वक्ताहरुले पानीको समस्या भएको क्षेत्रमा पानी खुवाउन नेपाल सरकारले गरेको प्रयत्नप्रति खुशी व्यक्त गरेका थिए ।
संघीय सरकारको रु.एक करोड ४६ लाख ४९ हजार ५४९,प्रदेश सरकारको रु.सोलारको लागि रु.४० लाख ८७ हजार ५६,सोलार क्षेत्र तारबारको लागि रु.तीन लाख ४२ हजार १६८ र स्थानीय श्रमदान रु.६० लाख २५ हजार ६०६ गरी कूल रु.दुई करोड ५१ लख २४ हजार ३३२ को लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।
उक्त आयोजनाबाट त्यस वडाका १३९ घरधुरीका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएको साविक जामुने–८ लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाले जानकारी दिए ।