
किरण श्रेष्ठ, तनहुँ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेसभित्र चुनावी चहलपहल बढ्न थालेको छ । काँग्रेसले केन्द्रीय समिति बैठकबाटै स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै चुनावी चहलपहल बढ्दै गएको हो ।
गत फागुन ३ गते काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि ‘घर–घर जाऊ काँग्रेस जिताऊ’ नारा तय गरेको फागुन २० गते देखि चैत २० गतेसम्म निर्वाचन अभियान चलाउने निर्णय गरेको थियो । चुनावी मिति नजिकिँदै जाँदा तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा काँग्रेसको तर्फबाट उपयुक्त उम्मेदवारको खोजी सुरु भएको छ । काँग्रेसले कसलाई उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक छलफल नगरे पनि आकाङ्क्षीहरूले भने लबिङ थालिसकेका छन् ।
व्यास नगरपालिकामा काँग्रेसको तर्फबाट एक दर्जन भन्दा बढी नेताहरूले आकांक्षा देखाएका छन् । जसका पूर्वमेयरदेखि, बहालवाला मेयर, उपमेयर, वडाध्यक्ष , जिल्ला समन्वय प्रमुख र नगरपालिकामै जोडिएर यसअघि काम गरेका नेताहरू रहेका छन् । जिल्ला कै ठुलो र मुख्य नगर भएकाले पनि व्यास नगरको चुनावलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।
व्यास नगरपालिकाको मेयरमा बलियो दाबेदारको रूपमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेसमेत रहेका छन् । वाग्लेले आफू मेयरका लागि स्वाभाविक दाबेदार रहेको तनहुँ उद्घोषलाई बताए । तर, यसबारे पार्टीभित्र कुनै छलफल भने भइनसकेको उनको भनाइ छ ।
‘नगरपालिकामा जित्ने उम्मेदवार चाहिन्छ ।’ उनले भने ‘पार्टीले चाहन्छ भने म चुनाव लड्न तयार छु ।’ अघिल्लो स्थानीय तह निर्वाचनमा पनि वाग्ले मेयरको दाबेदार रहेका थिए तर अन्तिम समयमा पार्टीले वैकुण्ठ न्यौपानेलाई टिकट दिएको थियो ।
आफू ‘पोटेन्सियल क्यान्डिडेट’ का रूपमा हेरिएकाले पनि चुनाव उठ्नपर्छ भनेर धेरैले सुझाव दिइरहेको पनि वाग्लेले बताए । तर उनी खुलिसकेको अवस्था भने छैन ।
गत स्थानीय तह निर्वाचनमा वाग्ले जिल्ला समन्वय समिति तनहुँमा १२ मतका साथ विजयी भएका थिए ।
यसैगरी हालका मेयर वैकुण्ठनाथ न्यौपानेले पनि मेयर दोहोर्याउने चहाना गरेको बुझिन्छ । उनले मेयरका रूपमा पहिलो कार्यकाल पूर्ण कार्यसम्पादन गर्न समय अपुग भएकाले पुन: मेयर बन्न चाहेको बताउने गरेका छन् । कांग्रेस तनहुँका निवर्तमान सभापति न्यौपाने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् । गत पार्टीको जिल्ला अधिवेशनमा सभापतिमा जितप्रकाश आले सँग पराजित भएका न्यौपानेले पार्टीबाट टिकट पाउने सम्भावना निकै कम रहेको कांग्रेसी नै बताउछन ।
यसैगरी हालकी उपमेयर मिरा जोशीले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएकी छन् । उनले उपमेयरका रूपमा राम्रो कार्यसम्पादन गरेकाले स्वाभाविक रूपमा आफू मेयरको दाबेदार रहेको जिकिर गर्दै आएकी छन् ।
यस्तै गरी व्यास नगरपालिकाका पुर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ पनि अर्का मेयरका आकांक्षी हुन् । उनि यसअघि नै मेयर उठ्ने तयारीमा रहेपनी पार्टीले उनलाई टिकट दिएको थिएन ।
यसैगरी हाल नेपाली कांग्रेसबाट नगरप्रमुखको आंकाक्षीको रुपमा पूर्व पार्टी सभापति रघुनाथ पौडेलको पनि चर्चा हुन थालेको छ । व्यास नगरप्रमुखका आंकाक्षी पौडेलले भानु नगरपालिकाबाट व्यास नगरपालिकामा आफ्नो मतदाता नामवली सारेका छन् । तर पौडेलले सार्वजनिक रुपमा व्यासको प्रमुखको उम्मेदवार बन्ने विषयमा मुख खोलि सकेको अवस्था भने छैन ।
यसैगरी यसअघि नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले पनि मेयरको आकांक्षा देखाएका छन् । उनको पनि नगरमा राम्रो प्रभाव रहेकाले आन्तरिक समीकरण मिलाउन सके सकारात्मक नतिजा निकाल्न सकिने काँग्रेस नेताहरूको भनाइ छ । व्यापारी पृष्ठभुमीबाट पार्टीमा निर्वाचन जितेका उनि मेयरमा उठ्ने चाहना रहेको देखिन्छ ।
नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल पनि व्यास नगरपालिकाको मेयरका आकांक्षी हुन् । भारी मत सहित बिजयी भई कांग्रेस जिल्ला सचिव बनेका खनाल युवा माझ निकै लोकप्रिय रहेका छन् । उनि पार्टीले आवश्यक ठानेको खण्डमा आफु तयार रहेको बताउछन् । उनी भन्छन ‘मेरो पहिलो प्राथमिकता पार्टी हो अनि त्यसपछि अन्य ।’
त्यस्तै कांग्रेसका पुरा नेता समुन्द्र गोदार, कांग्रेस जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख विश्व वास्तोला, महाधिवेशन प्रतिनिधी अशोककुमार श्रेष्ठ, जिल्ला सदस्य डम्बरबहादुर अधिकारी, प्रशिक्षण विभागका उप–संयोजक डा. शेषरमण न्यौपानेलाई नगरप्रमुखको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यस्तै कांग्रेस नेता एवं पुर्वगृहमन्त्री गोविन्दराज जोशीका छोरा दिपकराज जोशी पनि व्यास नगरपालिकामा मेयरको उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेसले नगरप्रमुख र उपप्रमुख दुवै जितेको थियो । यस्तै १४ वटा वडामा मध्य १३ वटा वडामा कांग्रेस विजयी भएको थियो । व्यासको वडा नमब्र ४ मा भने एमालेका उम्मेदवार बिजयी भएको थियो ।
काँग्रेसका तर्फबाट नगरप्रमुखमा वैकुण्ठ नाथ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत ल्याएका थिए ।
संघीय समाजवादी फोरम नेपालका हरिसिं गुरुङले १ सय ९९ मत, मधेशी जनअधिकार फोरम नेपाल (लो.ता)की धनमाया गौलीले २० मत, राष्ट्रिय जनमोर्चाका महादेव रानाभाटले ६३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिल बहादुर थापाले १७९ मत, नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका गणेशप्रसाद नागिलाले ७० मत, स्वतन्त्र उम्मेदवार नेत्र बहादुर रानाभाटले ३० मत ल्याएका थिए ।
यस्तै उपप्रमुख तर्फ काँग्रेसकी उम्मेदवार मिरा जोशीले १३ हजार २ सय ६० मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले ३ हजार ४ सय ७७ मत ल्याएका थिए ।
यस्तै मधेशी जनअधिकार फोरम नेपाल (लो.ता)की चिनी माया दरैले १८ मत, राष्ट्रिय जनामोर्चकी गंगा विकले ६६ मत, राष्ट्रिय जनमुक्ति पार्टीकी मन्धरी आलेले ४ सय ४५ मत र नयाँ शक्ति पार्टी नेपालकी नानु कार्कीले १ सय ३२ मत ल्याएकी थिईन ।
व्यासमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को मेयर तथा उपमेयर पदमा गठबन्धन रहेको थियो । तर उनीहरु पराजित भएका थिए ।