तनहुँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा तनहुँको म्याग्दे गाउँपालिका तनहुँमै प्रथम भएको छ ।
गाउँपालिकाले जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये सर्वाधिक ९१.५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषयगत क्षेत्रमा तीन अवस्था विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गरेको छ ।
गतवर्ष पनि म्याग्दे गाउँपालिका प्रथम भएको थियो ।
गत आर्थिक वर्षमा म्याग्देले शासकीय प्रवन्धमा कुल अङ्क ९ मा प्राप्ताङ्क ९, संगठन तथा प्रशासनमा कुल ८ मा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा कुल ११ मा ११ , वित्तीय तथा आर्थिक व्यवस्थापनमा कुल ११ मा ११ अंक पाएको छ ।
यसैगरी, सेवा प्रवाहमा १६ मा १६ , न्यायिक कार्यसम्पादनमा ७ मा ७ , भौतिक पूर्वाधारमा १३ मा ९.५ ,सामाजिक समबेशिकरणमा १० मा १० , वातावरण संरक्षण एवम् विपद् ब्यबस्थापनमा ९ मा ७ अंक पाएको छ ।
म्याग्देले सहकार्य र समन्वयमा ६ मा ३ गरि कुल १ सयमा ९१.५ प्रतिशत अंक प्राप्त गरी प्रथम हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
कर्मचारीको क्षमता अनुसार कामको जिम्मेवारी दिने र सही समयमा परिणाममूखी काम लगाएको कारण सफलता हात परेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।
उनले यसमा जनप्रतिनिधि, कर्मचारी सबैको भूमिका रहेको बताइन् । सबैको साथले नैं हामी लगातार २ वर्ष प्रथम भएका हौँ, यसले हामीलाई काम गर्न अझै हौसला बढाएको छ रानाले भनिन् ।
कार्यविधि अनुसार उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।