पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अवसरवादको जगमा बनेको गठबन्धन लामो समय नटिक्ने बताए ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै वर्तमान गठबन्धन कमजोर बन्दै गएको बताए ।
वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उनले बताए ।
उनलेे थपे ‘पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्छ ।’
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए ।
प्रेस चौतारीमा आबद्ध पत्रकारहरू नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनके बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससीसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताइन् ।
सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उनले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता बताईन ।
कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराई लगायतले बोलेका थिए ।
प्रेस चौतारी नेपालको यहीँ फागुन २७ र २८ गते पोखरामा नवौं महाधिवेशन हुँदैछ ।
महाधिवेशन आयोजक कमिटीका संयोजक गणेश पाण्डेले महाधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताए ।