तनहुँ। तनहुँको देवघाट गाउँपालिका-३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ ।
वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आइतबार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए ।
उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०/४० मिटर तल खसेको थियो ।
वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए ।
“वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने ।
उनका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।
वडाध्यक्ष आले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गाउँपालिकाद्वारा शोक बिदा
देवघाट गाउँपालिकाले वडा नं ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।