तनहुँ । दमौली अस्पताल संचालक समितिका नव नियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन् । तनहुँको दमौलीस्थित दमौली अस्पतालमा बुधबार पुगेर समितिका अध्यक्षसहितका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।
गत आइतबार गण्डकी प्रदेश सरकार मातहत रहेको दमौली अस्पताल संचालक समितिको अध्यक्षमा गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट जसपाका केन्द्रिय सदस्य देवेन्द्र थापा अध्यक्षमा नियुक्त भएका थिए ।
त्यस्तै अस्पताल विकास समितिको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका नेता विर बहादुर थापा र सृजना सिग्देल नियुक्त भएका छन् । यसैगरी नेपाली कांग्रेसको तर्फबाट सुशिला शर्मा, केश बहादुर सुनार सदस्यमा नियुक्त भएका छन् भने जनता समाजवदाी पार्टीको तर्फबाट सदस्यमा खड्ग बहादुर आले नियुक्ति भएको छन् ।
पदभार ग्रहण गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष थापाले अस्पतालका सेवा गुणस्तरीय र चुस्तदुरुस्त बनाउने बताए । उनले भने ‘गाउँका मानिसलाई दमौली अस्पतालमा मै सेवा लिन सक्ने बनाउने हाम्रो उद्देश्य हो ।’ उनले अगाडी थपे ‘बिरामी गाउँबाट पृथ्वी राजमार्ग झरेपछि पोखरा जाने की काठमाडौं जाने भनेर सोच्न पर्ने अवस्थामा छन् त्यो अब अन्त्य हुनेछ ।’
अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाएर हामि अगाडी बढ्ने अध्यक्ष थापाले बताए । उनले भने ‘सिमित स्रोत र साधनबाट नै सक्दो सेवा दिने र थप विस्तार गर्दै लैजान्छौं ।’
सोही अवसरमा अध्यक्ष थापाले कर्मचारीलाई हतोत्साहित बनाउने काम समितिबाट नहुने बताए । उनले अगाडी भने ‘हाम्रो प्रत्येक हिसाब र काम पारदर्शी हुनेछ ।’ अस्पतालले पहिलो प्राथमिकता सरसफाइलाई राख्ने अध्यक्ष थापाले बताए ।
पदबहाली कार्यक्रममा बोल्दै अस्पताल समितिका सदस्य केशबहादुर सुनारले जग्गा प्राप्तिका लागी संघ र प्रदेश सरकारलाई अनुरोध गरिने बताए । उनले भने ‘जसरी हुन्छ हाम्रो तहबाट अस्पतालको विकास र हितमा लाग्नेछौं ।’
दमौली अस्पतालले अभिभावक पाएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्यालले बताए । उनले भने ‘हामि प्राविधिक मान्छे हौ, सामुदाय र अस्पतालको दुरी घटाउन समितिले भुमिका खेल्नुपर्छ ।’
अस्पतालले साघुरो ठाउँमा बसेर सेवा दिन बाध्य रहेको डा.पौड्यालले बताए । उनले थपे ‘सर्वसाधारणको माग अनुसार सेवा दिन सकेका छैनौ ।’
अस्पतालमा दैनिक २५० देखि ३ सय जना बिरामीले ओपिडि भिजिट गर्ने डा.पौड्यालले जानकारी दिए । उनले थपे ‘हामिले ३ सय ९९ जना कोरोना संक्रमितको उपचार समेत गर्न सफल भयौं ।’ अस्पतालले क्षमता अनुसार काम गरिरहेको डा.पौड्यालले बताए । प्राविधिक जनशक्तिको व्यवस्था गर्न सके अझै गुणस्तरीय सेवा अस्पतालले प्रदान गर्ने उनले बताए ।
अहिले अस्पतालमा अक्सिजन प्लान्टको व्यवस्था रहेको र अस्पतालमा ४२ बेड संचालनमा रहेको डा.पौड्यालले जानकारी दिए । अस्पतालमा बालरोग विशेषज्ञ सेवा ल्याउन सके अझै धेरै सर्वसाधारण लाभान्वित हुने उनि बताउछन् । उनले थपे ‘राजमार्ग नजिक रहेकाले दमौली अस्पताललाई ट्रमा सेन्टर र ट्रेनिङ सेन्टर बनाउने समेत सकिन्छ ।’
वि.सं. २०३४ सालमा हेल्थपोष्टबाट सुरु भएर वि.सं. २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै वि.सं. २०५९ सालबाट दमौली अस्पताल भएको अस्पतालमा अझैपनि दरबन्दी अनुसार चिकित्सक र कर्मचारी अभाव रहेको छ ।
नव नियुक्त पदाधिकारीलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्यालसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए ।
अस्पातल संचालक समितिको सदस्यमा उद्योग वाणिज्य संघको अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि सदस्य, व्यास नगरपालिकाको नगर प्रमुख वा नगर प्रमुखले तोकेको कार्यपालिकाको सदस्य समितिको सदस्य हुने ब्यवस्था रहेको छ ।
अस्पताल संचालक समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख रहने ब्यवस्था रहेको छ । अस्पतालमा संचालक समिति चार महिनादेखि रिक्त रहेको थियो ।