images
images
images

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने

images

तनहुँ । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँमा गएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।

कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ ।

अब चार नगरपालिका र छ गाउँपालिकामार्फत नागरिकलाई जानकारी गराइने कार्यालय प्रमुख ढकालले बताए । उनले भने,‘ मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।’

तनहुँमा १६ वर्ष उमेर पुगेका १८ हजार भन्दा बढीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को साउन देखि माघ २४ गतेसम्मको अवधिमा फोटो सहितको मतदाता नामावलीमा १८ हजार ९ सय ५५ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जसमा पुरुष १० हजार ८ सय १४ र महिला ८ हजार १ सय ४१ जनाले मतदातामा नामावली दर्ता गराएको उनले बताए । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय मार्फत उनीहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

१८ वर्ष नपुगेकाले मतदान गर्न पाउने अधिकारबाट बन्चित हुने जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गरेको जनाएको छ । १८ वर्ष नाघेका नामावली मात्रै योग्य मतदाता हुनेछन ।

गत २०७४ मा भएको स्थानीय तहको निर्वाचमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए । प्रतिनिधी प्रदेश सभा निर्वाचनमा दुई लाख ११ हजार ४ सय ४४ मतदाता संख्या पुगेको थियो ।


२०७७ पुस ५ गतेसम्मको तथ्याङ्गक अनुसार जिल्लामा १८ उमेर पुगेका दुई लाख २७ हजार ४६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । हाल २ लाख ४८ हजार ५ सय ४१ जनाको नाम मतदाता नामावलीमा रहेको कार्यालयले जनाएको छ । जसमा पुरुष १ लाख १९ हजार ९ सय ७३ जना र महिला १ लाख २८ ५ सय ६८ जना रहेका छन् ।

निर्वाचन सम्बन्धी कामको स्थानीय तहसंग समन्वय गर्नको लागि जिल्लाका दश वटै पालिकाहरुमा निर्वाचन सम्पर्क व्यक्ति समेत चयन गरिसकिएको कार्यालयले जनाएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको तनहुँ जिल्लामा १३६ मतदान स्थल रहेको पनि जिल्ला निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS