तनहुँ । तनहुँको सत्यवती माविले इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गरेकाे छ । विद्यालयले उपाधिका लागी सन-२०१९-२० काे ब्याचमा आवेदन दिएको थियाे ।
विद्यालयकाे पाठ्यक्रमलाई दिगाे विकासका लक्ष्यहरु र अन्तराष्ट्रिय आयमसंग जाेडेर स्वदेश तथा विदेशका विद्यालय र विद्यार्थीहरुसँग सहकार्य गर्नेगरी विद्यार्थीका सिकाई क्रियाकलाप समावेश गर्दै कार्य योजनासहित परियोजनाहरु विद्यालयले तयार गरेको विद्यालयका निवर्तमान प्रअ इन्द्र पौडेलले जानकारी दिए ।
उक्त परियोजनाका कृयाकलापहरु सम्पन्न गरि सन् २०२१ मे २० मा कृयाकलापकाे अभिलेख फाइल मूल्याङ्कनकाे लागि पेश गरेकाे पौडेलले बताए ।
ब्रिटिस काउन्सिलले दिने इन्टरनेश्नल स्कुल अवार्डकाे अवधि ३ वर्षकाे हुन्छ ।
उक्त परियोजना सन् २०१९ मा सुरु गरेको तर कोभिडका कारण २०२१ मा मात्र सकिएको विद्यालयका शिक्षक एवं परियोजनाका संयोजक सन्त बहादुर थापाले बताए ।
उनका अनुसार सत्यवती माविले ७ वटा परियोजना सम्पन्न गएको थियो । विद्यालयले जंक फुड, उर्दु भाषा, कौराहा नृत्य, भ्रष्टाचार लगाएतका विषयमा परियोजना बनाएको थियो ।
सत्यवतीले पाकिस्तानको विद्यालय सँग समेत सहकार्य गरेर परियोजना बनाएको संयोजक थापाले बताए । सो कार्यशालाले विद्यार्थीलाई प्रत्यक्ष सिक्ने मौका मिलेको उनले बताए । उनका अनुसार उक्त अवार्ड पाइसकेको विद्यालय भएको हुँदा आगामी दिनमा विदेशमा पढ्न जादा विद्यार्थीलाई केहि थप सहज हुनेछ ।