दमौली , ११ माघ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार बुद्धसिंह मार्गको निरीक्षण गरेका छन ।
दमौलीदेखि घुमाउने घाटसम्म जोड्ने उक्त मार्गको कांग्रेस वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन । कांग्रेसका वरिष्ठ नेता पौडेलले बाटो निर्माण समितिका पदाधिकारी र स्थानीयहरुसँग भेटघाट गरी बुद्धसिह मार्गलाई थप व्यवस्थित बनाउन आग्रह गरेका थिए ।
सारांङघाटमा संचालित क्रसर उद्योगका कारण दर्जनौ टिप्परहरु गुडदा उक्त मार्गको अवस्था दयनीय रहेको स्थानीयबाट गुनासो आएपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले सो मार्गको स्थलगत अवलोकन गरेका हुन ।
२०७४ सालमा आफैले शुभारम्भ गराएको त्रिशुली नदी माथिको घुमाउने मोटरेबल पुलको समेत पौडेलले निरीक्षण गरेका थिए । उनले पुल निर्माणको काम तत्काल अगाडि बढाउन प्राविधिकहरुलाई निर्देशन समेत दिए । साराङघाट, मास्दी, नाल्दी, सुडे, कोइदिमघाट, प्यूघर, लगायतका बासिन्दाहरुसँग भेटघाट गरी मास्दी र नाल्दीमा बन्ने मोटरेबल पुल निर्माणको बारेमा समेत पौडेलले जानकारी लिए । दमौलीदेखि घुमाउनेसम्मको ३२ किलोमिटर लामो सहिद बुद्धसिह मार्गलाई स्तर बृद्धि गर्न आफेनै पहलमा ६ करोड रुपैयाँ यस वर्ष विनियोजन गरिएको दावी समेत पौडेलले गरे ।
केन्द्रिय सरकार अन्तर्गतको उक्त बजेट प्रदेश सरकार मातहत खर्च गर्ने गरी प्राप्त भएको पौडेलले बताए । सोही रकमबाट बेलबासदेखि सुढेको पुलसम्म सडक चौडा गर्न पक्की नाला, रिटर्निङ वाल तत्काल निर्माण गर्न प्राविधिकहरुलाई उनले आग्रह गरे । आफुले चुनाव हारेपछि बुद्धसिह मार्ग अलपत्र परेको भन्दै सो मार्ग बनाउने जिम्मा आफुले लिने पौडेलले बताए ।
यस अघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त मार्ग लामो समयसम्म बन्नु त परै जाओस ग्राभेल भइसकेको बाटो समेत खाल्टाखुल्टी हुने गरी भत्किदै गएपछि दक्षिणी भेगका जनताको लागि पनि सो बाटोलाई पुरा गरेरै छाडने उनको भनाइ छ । मंगलबार नै पौडेलले तल्लो सेती आयोजनाको डुबानले पार्ने वस्ती र सडक मार्गहरुको समेत निरीक्षण गरेका थिए । १२६ मेघावाट क्षमताको तल्लो सेती आयोजनाको ड्याम साराङघाट नजिकै हुनेछ ।